पाल्पा, असार ५
पाल्पाको माथागढी गाउँपालिका मा प्रशासकीय भवन निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। निर्माण सुरु भएको करिब १४ महिनामा भवनको ६० प्रतिशत भौतिक तथा ५२ प्रतिशत वित्तीय प्रगति भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले भवन निर्माणका लागि २०८२ चैत २२ गते नेरिसा–जेसिका–साहिल जेभी, काठमाडौंसँग ६ करोड ७६ लाख ८५ हजार ४ सय ८८ रुपैयाँ ८५ पैसामा ठेक्का सम्झौता गरेको थियो। उक्त रकम मूल्य समायोजनबाहेक तथा मूल्य अभिवृद्धि कर (भ्याट) सहित रहेको गाउँपालिकाका इन्जिनियर धर्मेन्द्रकुमार यादवले जानकारी दिनुभयो।

वडा नं. ४ झडेवा, चिउरेमाटीमा स्थानीय विष्णुकुमारी जिसी, श्यामबहादुर जिसी र मीनाकुमारी जिसीबाट कुल ८ रोपनी ८ आना १ पैसा जग्गा निःशुल्क उपलब्ध भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी भवन निर्माण सुरु गरिएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो। अध्यक्ष चिदीका अनुसार प्रशासकीय भवन अभावमा सेवा प्रवाहमा कठिनाइ हुँदै आएको थियो। विभिन्न स्थानबाट सेवा दिनुपर्दा सेवाग्राही र कर्मचारी दुवैलाई समस्या हुनुका साथै कार्यालय व्यवस्थापन खर्चसमेत बढेको छ। भवन निर्माण सम्पन्न भएपछि एकीकृत रूपमा सेवा प्रवाह गर्न सहज हुने उपाध्यक्ष विष्णु लुङ्चेले बताउनुभयो।

इन्जिनियर यादवका अनुसार भवनमा अपाङ्गमैत्री, बालमैत्री, भूकम्पप्रतिरोधी संरचना, व्यवस्थित पार्किङ, करिब ३०० जना अट्ने सभाहल तथा ५५ वटा कोठा रहनेछन्। हाल स्टोर, शौचालय र चमेना गृह निर्माणको काम भइरहेको छ भने तेस्रो तलाको ढलान सम्पन्न भई प्लास्टरको काम जारी छ। सम्झौताअनुसार निर्माण कम्पनीले २०८३ चैत २२ गतेभित्र भवन निर्माण सम्पन्न गरिसक्नुपर्नेछ।

निर्धारित समयमै निर्माण सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ। हालसम्म निर्माण व्यवसायीले ३ करोड ५४ लाख १० हजार रुपैयाँ भुक्तानी लिइसकेको गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले जानकारी दिनुभयो। भवन निर्माणको कुल लागतमध्ये ६० प्रतिशत रकम स्थानीय पूर्वाधार विभाग र ४० प्रतिशत रकम गाउँपालिकाको साझेदारीमा व्यहोर्ने व्यवस्था गरिएको छ।