
देव पचभैया/पाल्पा
स्थानीय सरकार गठनपछि विकास निर्माणका गतिविधिलाई तीव्रता दिँदै आएको पाल्पाको बगनासकाली गाउँपालिका ले पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राख्दै सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी तथा पर्यटन क्षेत्रका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाले ग्रामीण सडक सञ्जाल विस्तार, स्वास्थ्य सेवाको पहुँच वृद्धि, कृषि उत्पादनलाई बजारसँग जोड्ने पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर विकासका कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिका अध्यक्ष सरस्वती चिदी का अनुसार नीति तथा कार्यक्रम नागरिकको आवश्यकता पहिचान गरी तयार गरिएको हो र योजनाको नियमित अनुगमनमार्फत गुणस्तरीय कार्यान्वयन सुनिश्चित गरिएको छ। गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक ले योजना निर्माणदेखि कार्यान्वयनसम्म जनप्रतिनिधि, प्राविधिक कर्मचारी र उपभोक्ता समितिबीच समन्वय कायम गरिएकाले विकास निर्माणमा पारदर्शिता र प्रभावकारिता बढेको बताउनुभयो। पूर्वाधार विकासअन्तर्गत ग्रामीण सडक स्तरोन्नतिलाई विशेष प्राथमिकता दिइएको छ।

विभिन्न वडाका सडकमा ढलान, नाली निर्माण तथा सुधारका काम भइरहेका छन्। गाउँपालिकाका प्रमुख इन्जिनियर प्रमोद कुँवर का अनुसार वर्षायाममा अवरुद्ध हुने सडकलाई क्रमशः सबै मौसममा सञ्चालनयोग्य बनाउने लक्ष्यसहित काम अघि बढाइएको छ। स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको छ। बगनासकाली–१ चिलाङ्दीमा १५ शैयाको आधारभूत अस्पताल निर्माण कार्य करिब ९५ प्रतिशत सम्पन्न भएको छ। अस्पताल सञ्चालनमा आएपछि विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। यसैगरी प्रदेश सरकारको सहयोगमा पोखराथोक स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भइसकेको छ। संघीय समपूरक कार्यक्रमअन्तर्गत मौलेभञ्ज्याङ–गुँगा–दर्पुक सडक निर्माणका लागि विनियोजित ३ करोड रुपैयाँमध्ये करिब ८० प्रतिशत काम सम्पन्न भएको छ।
चिलाङ्दी–नायर–खानीछाप मोटरबाटो निर्माणका लागि बहुवर्षीय १० करोड रुपैयाँको योजना कार्यान्वयनमा रहेको छ। साथै, कालीगण्डकी बृहत् लिफ्टिङ खानेपानी योजना सम्पन्न भइसकेको छ। प्रदेश समपूरक कार्यक्रमअन्तर्गत टोक्से–मन्द्रान मोटरबाटो निर्माणमा करिब ६० प्रतिशत प्रगति भएको छ भने राम्दी–मलेङ मोटरबाटो निर्माण सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले कृषि उत्पादन वृद्धि, सिँचाइ विस्तार, पर्यटन विकास तथा शैक्षिक पूर्वाधार सुधारका कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। ग्रामीण सडक विस्तारसँगै कृषि उपज बजारसम्म पुर्याउन सहज भएको स्थानीयको भनाइ छ। दर्लमडाँडाका स्थानीय कमल भण्डारी ले सडक पहुँच विस्तारसँगै स्वास्थ्य र शिक्षामा समेत नागरिकको पहुँच सुधार हुँदै गएको बताउनुभयो।स्पष्ट नीति, योजनाबद्ध कार्यक्रम र प्रभावकारी कार्यान्वयनका कारण बगनासकाली गाउँपालिका विकासको नयाँ चरणमा प्रवेश गरेको देखिन्छ।
सडक, स्वास्थ्य, खानेपानी र अन्य आधारभूत पूर्वाधारमा भइरहेको लगानीले गाउँपालिकालाई समृद्ध, व्यवस्थित र नागरिकमैत्री स्थानीय तहका रूपमा स्थापित गर्ने आधार बलियो बनाइरहेको छ। आगामी वर्षमा नीति तथा कार्यक्रमको सफल कार्यान्वयनले विकास यात्रालाई अझ तीव्र बनाउने अपेक्षा गरिएको छ।