FlashNepal
आइतबार, आषाढ १४, २०८३  |  June 28, 2026

राजस्व संकलनमा सुधार, दिगो विकासका लागि स्रोत विस्तारको खोजी

पाल्पा, असार १२

स्थानीय सरकारलाई दिगो र आत्मनिर्भर बनाउने आधार भनेकै बलियो आन्तरिक आम्दानी हो। यही लक्ष्यलाई केन्द्रमा राख्दै पाल्पाको माथागढी गाउँपालिका आफ्ना आन्तरिक आयका स्रोत विस्तार गर्ने अभियानमा सक्रिय बनेको छ। संघ र प्रदेश सरकारको अनुदानमा मात्र निर्भर नहुँदै आफ्नै स्रोतलाई मजबुत बनाउने रणनीतिअनुसार गाउँपालिकाले राजस्व संकलनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने प्रयासलाई तीव्रता दिएको छ। गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीका अनुसार स्थानीय आवश्यकताअनुसार विकास आयोजना सञ्चालन गर्न र जनताका अपेक्षा पूरा गर्न आन्तरिक आम्दानी बलियो हुनु आवश्यक छ। उहाँले आन्तरिक स्रोत सबल हुँदा संघ र प्रदेश सरकारबाट कार्यसम्पादनका आधारमा प्राप्त हुने अनुदानसमेत बढ्ने भएकाले गाउँपालिका राजस्वका नयाँ सम्भावित स्रोतको खोजीमा रहेको बताउनुभयो।  “हामी पालिकाको आन्तरिक आम्दानी बढाउने विभिन्न उपायको खोजीमा छौं। आफ्नै स्रोत बलियो भयो भने विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउन सकिन्छ,” अध्यक्ष चिदीले भन्नुभयो।

गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले संकलित राजस्वले विकास निर्माण, पूर्वाधार सुधार तथा दीर्घकालीन योजनाको कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँका अनुसार कर प्रणालीलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउने प्रयास जारी छ।  चालु आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाले १ करोड ९५ लाख ३५ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। हालसम्म १ करोड ५१ लाख ७ हजार १ सय ५० रुपैयाँ ७२ पैसा संकलन भइसकेको छ, जुन लक्ष्यको करिब ७७ प्रतिशतभन्दा बढी हो। आर्थिक वर्ष समाप्त हुन अझै केही समय बाँकी रहेकाले लक्ष्य नजिक पुग्ने अपेक्षा गरिएको गाउँपालिकाको भनाइ छ।लेखा अधिकृत सन्तोष दाहालका अनुसार केही राजस्व शीर्षकमा लक्ष्यभन्दा बढी आम्दानी भएको छ। ढुंगा, गिट्टी, बालुवा लगायत प्राकृतिक स्रोतबाट ३० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा ४० लाख ७२ हजार ९ सय ८ रुपैयाँ आम्दानी भएको छ। यसैगरी अन्य राजस्व शीर्षकबाट ४५ लाख ७४ हजार ५ सय ७४ रुपैयाँ संकलन भएको छ।

घर तथा सरकारी सम्पत्तिको बहाल–भाडा, बहाल कर, भूमि कर तथा मालपोत, सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर, व्यवसाय कर तथा व्यवसाय दर्ता दस्तुरबाट पनि उल्लेखनीय राजस्व संकलन भएको छ। बहाल करतर्फ ६ लाख रुपैयाँ लक्ष्य राखिएकोमा ७ लाख ५५ हजार ४ सय २ रुपैयाँ संकलन भएको छ भने सरकारी सम्पत्तिको बहाल–भाडाबाट १० लाखको लक्ष्यविपरीत १२ लाख ७३ हजार ९ सय १ रुपैयाँ आम्दानी भएको छ। यद्यपि सबै क्षेत्रबाट अपेक्षाअनुसार राजस्व उठ्न सकेको छैन। प्रदूषण नियन्त्रण शुल्क, नक्सापास दस्तुर, बहाल बिटौरी कर, साना सवारी साधन कर तथा मनोरञ्जन करजस्ता शीर्षकमा राजस्व संकलन न्यून रहेको गाउँपालिकाले जनाएको छ। यी क्षेत्रमा सुधार गर्न नीतिगत तथा प्रशासनिक उपाय अपनाउने तयारी भइरहेको छ।  स्थानीय सरकारको आर्थिक आत्मनिर्भरता केवल कर संकलनमा सीमित हुँदैन, बरु नागरिकको विश्वास, पारदर्शी वित्तीय व्यवस्थापन र प्रभावकारी सेवा प्रवाहसँग पनि जोडिएको हुन्छ। यही तथ्यलाई आत्मसात् गर्दै माथागढी गाउँपालिकाले आन्तरिक आम्दानीका नयाँ सम्भावना पहिचान गर्ने, करदातामैत्री वातावरण निर्माण गर्ने र राजस्वको दायरा विस्तार गर्ने रणनीतिलाई प्राथमिकतामा राखेको छ।  आन्तरिक स्रोत बलियो बन्दै गएसँगै गाउँपालिकाले भविष्यमा विकास निर्माणका योजना आफ्नै आर्थिक क्षमताबाट अघि बढाउने विश्वास लिएको छ। यसले स्थानीय सरकारलाई थप आत्मनिर्भर, उत्तरदायी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com