
देव पचभैया/पाल्पा
विद्यालयको शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहोस्, विद्यार्थीले सिकेका ज्ञान र सीपलाई समुदायमा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले पाल्पाको माथागढी गाउँपालिकाले सञ्चालन गरेको ‘सक्षम सिकाइ कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ। तीन वर्षअघि सुरु भएको यो कार्यक्रमले शिक्षण–सिकाइलाई व्यवहारिक, सिर्जनात्मक र दिगो बनाउने नयाँ अभ्यासको विकास गरेको छ।
हालै माथागढी गाउँपालिका–३ स्थित दिव्यज्योति माध्यमिक विद्यालयमा आयोजित सामाजिक परियोजना प्रदर्शनीले विद्यार्थीको सिर्जनशीलता, अनुसन्धान क्षमता र सामाजिक उत्तरदायित्वलाई एकैसाथ उजागर गर्यो। आधारभूत र माध्यमिक तहका २५ भन्दा बढी विद्यार्थीले आफूहरूले समुदायमा अध्ययन, अवलोकन र सहभागितामार्फत गरेका परियोजनाहरू प्रस्तुत गरेका थिए।
परियोजनाहरू केवल विद्यालयभित्र सीमित थिएनन्। बालविवाह न्यूनीकरण, फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण, सरसफाइ, समुदायमा जनचेतना अभिवृद्धि तथा सामाजिक समस्याको पहिचान र समाधानका प्रयास जस्ता विषयमा विद्यार्थीहरूले प्रत्यक्ष रूपमा समुदायसँग सहकार्य गरेका थिए। यसले उनीहरूलाई पाठ्यपुस्तकको ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले गाउँपालिकाले विगत तीन वर्षदेखि सामाजिक परियोजनालाई प्राथमिकतामा राखेर विद्यालयहरूलाई बजेट उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीले समुदायमै पुगेर समस्या पहिचान गर्ने, त्यसको समाधान खोज्ने र आफ्नो सिकाइलाई व्यवहारमा लागू गर्ने वातावरण तयार गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य हो।
उहाँले विद्यालयमा सिकेका ज्ञानलाई समाजसँग जोड्न सके मात्रै शिक्षाको वास्तविक उद्देश्य पूरा हुने बताउँदै सामाजिक परियोजनाले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, अनुसन्धान गर्ने बानी तथा सामाजिक उत्तरदायित्वको भावना विकास गरेको उल्लेख गर्नुभयो। समुदायका समस्यामा विद्यार्थीको सक्रिय सहभागिताले भविष्यका जिम्मेवार नागरिक तयार गर्न महत्वपूर्ण योगदान पुग्ने उहाँको विश्वास छ।
माथागढी गाउँपालिकाले सक्षम सिकाइ कार्यक्रमसँगै शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेषगरी ब्रिटिस काउन्सिलसँगको सहकार्यमा शिक्षक तथा विद्यार्थीका लागि सञ्चालन गरिएका क्षमता विकास कार्यक्रमले विद्यालयमा शिक्षण शैलीमा सकारात्मक परिवर्तन ल्याएको गाउँपालिकाको भनाइ छ। विद्यार्थी–केन्द्रित सिकाइ, समूहगत कार्य, प्रस्तुतीकरण तथा परियोजनामा आधारित शिक्षण पद्धतिले कक्षाकोठाको वातावरणलाई थप जीवन्त बनाएको छ।
कार्यक्रमका संयोजक तथा दिव्यज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थापामगरका अनुसार सामाजिक परियोजना प्रदर्शनीले विद्यार्थीमा अनुसन्धान, प्रस्तुतीकरण र समस्या समाधान गर्ने सीपको विकास गराएको छ। उहाँले यस्ता कार्यक्रमले सिकाइलाई दीर्घकालीन र प्रभावकारी बनाउने भएकाले आगामी वर्षहरूमा समेत निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
वडा नं. ३ का अध्यक्ष तेजबहादुर घर्तीले आधारभूत र माध्यमिक तहका विद्यार्थीहरूले तयार गरेका परियोजनाहरूले विद्यालयमा सिकेको ज्ञानलाई व्यवहारमा रूपान्तरण गरेको बताउनुभयो। यस्ता अभ्यासले विद्यार्थीलाई आत्मविश्वासी र सिर्जनशील बनाउनुका साथै समुदायसँग जोड्ने महत्वपूर्ण माध्यम बनेको उहाँको भनाइ छ।
प्रदर्शनीमा सहभागी विद्यार्थीहरू पनि उत्साहित देखिन्थे। उनीहरूका अनुसार कक्षामा पढेको विषयलाई प्रत्यक्ष रूपमा समुदायमा अध्ययन गरेर समाधानका उपाय खोज्दा सिकाइ अझ प्रभावकारी र सम्झनयोग्य बनेको छ। परियोजनाको नतिजा सार्वजनिक रूपमा प्रस्तुत गर्न पाउँदा बोल्ने कला, नेतृत्व क्षमता र आत्मविश्वासमा समेत वृद्धि भएको उनीहरूको अनुभव छ।
शिक्षा प्रणाली अहिले केवल परीक्षा र अंकमा सीमित नरही जीवनोपयोगी सीप विकासतर्फ उन्मुख भइरहेको छ। माथागढी गाउँपालिकाको सक्षम सिकाइ कार्यक्रम त्यसैको एउटा उदाहरण बनेको छ। विद्यार्थीलाई खोज, अनुसन्धान, सहकार्य र सामाजिक उत्तरदायित्वसँग जोड्ने यस्तो अभ्यासले भविष्यका सक्षम, जिम्मेवार र सिर्जनशील नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै शिक्षालाई व्यवहारसँग जोड्ने यो अभियानले माथागढीको शैक्षिक क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको छ। यस्ता कार्यक्रमलाई निरन्तरता र विस्तार दिन सके शिक्षण–सिकाइ अझ गुणस्तरीय, दिगो र जीवनोपयोगी बन्ने निश्चित देखिन्छ।