
पाल्पा, असार ११
पाल्पाको माथागढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६८ करोड १३ लाख ५७ हजार २९३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको गाउँसभाको दोस्रो अधिवेशनमा उपाध्यक्ष विष्णुमाया लुङ्चेले उक्त बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेटमध्ये चालुतर्फ ४७ करोड ६३ लाख ५७ हजार २९३ रुपैयाँ र पुँजीगततर्फ २० करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालका अनुसार प्रस्तुत बजेट गाउँपालिकाले स्वीकृत गरेको नीति तथा कार्यक्रमअनुसार तयार गरिएको हो। बजेटमा सञ्चालन गर्न सकिने र निर्धारित समयमै सम्पन्न गर्न सकिने योजनालाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो। गाउँसभाको पहिलो बैठक जेठ २९ गते बसेको थियो। सोही बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत तथा पारित गरिएको थियो। गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले पारित नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले यथार्थपरक बजेट ल्याइएको बताउनुभयो। उहाँले सम्पन्न गर्न सकिने कार्यक्रमलाई मात्रै बजेटमा समेटिएको उल्लेख गर्दै बजेट कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाको सहयोग आवश्यक रहने धारणा व्यक्त गर्नुभयो।