पाल्पा, असार १५
स्वच्छ खानेपानी नागरिकको आधारभूत आवश्यकता मात्र होइन, स्वस्थ र सम्मानपूर्ण जीवनको आधार पनि हो। तर पहाडी भूगोलका कारण वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका पाल्पाको माथागढी गाउँपालिकाका धेरै बस्तीमा अहिले परिवर्तनको अनुभूति हुन थालेको छ। गाउँ सरकारले सञ्चालन गरेको ‘एक घर–एक धारा’ अभियान ले दुर्गम गाउँसम्म सुरक्षित खानेपानी पुर्याउँदै स्थानीयको दैनिक जीवनलाई सहज बनाइरहेको छ। यस अभियानको पछिल्लो उदाहरण हो, माथागढी गाउँपालिका–७ को दुर्गम बस्ती रहवास। वर्षौंदेखि टाढाबाट पानी बोक्न बाध्य स्थानीय अहिले आफ्नै घरको धाराबाट पानी प्रयोग गर्न थालेका छन्। गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित ६ लाख रुपैयाँ बजेट र स्थानीय उपभोक्ताको श्रमदानबाट बादुर खोला सोलार लिफ्टिङ्ग खानेपानी आयोजना सम्पन्न भएपछि ३० घरधुरी र एक चर्चमा खानेपानीको पहुँच पुगेको छ।
उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर सारुका अनुसार आयोजना निर्माणअघि स्थानीयले दैनिक उपभोगका लागि निकै टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता थियो। अहिले घर–घरमा धारा जडान भएपछि समय, श्रम र खर्चको बचत हुनुका साथै दैनिक जीवन सहज बनेको छ। माथागढी गाउँपालिकाले खानेपानीलाई विकासको प्राथमिकतामा राख्दै पालिकाभर योजनाबद्ध रूपमा लगानी बढाइरहेको छ। गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीका अनुसार भौगोलिक रूपमा दुर्गम बस्तीलाई समेत समान प्राथमिकतामा राखेर आवश्यकता र समस्याका आधारमा बजेट विनियोजन गर्ने नीति अवलम्बन गरिएको छ। उहाँका अनुसार ‘एक घर–एक धारा’ अभियान अन्तर्गत प्रत्येक नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ योजना सञ्चालन भइरहेको छ। खानेपानी पूर्वाधार विस्तार केवल वडा नम्बर ७ मा सीमित छैन। गाउँपालिकाका आठवटै वडामा दर्जनौं खानेपानी आयोजना सञ्चालनमा छन्। कतिपय आयोजना सम्पन्न भइसकेका छन् भने केही अन्तिम चरणमा पुगेका छन्।
वडा नम्बर १ मा रहेको बदवारी खानेपानी आयोजनाबाट करिब १०० घरधुरी लाभान्वित भएका छन् भने बाहखोक–अर्पिडाँडा दोहोरा खानेपानी आयोजनाले २४० घरधुरीलाई सेवा पुर्याइरहेको छ। धारादी–रुमालडाँडा लिफ्ट खानेपानी आयोजनाबाट ४० घरधुरी र बुढिकोट लिफ्ट खानेपानी आयोजनाबाट ८० घरधुरी लाभान्वित भएका छन्। निर्माणको अन्तिम चरणमा रहेको जाउपोखरा खानेपानी आयोजना सम्पन्न भएपछि थप ४५ घरधुरीले सुविधा पाउनेछन्। त्यस्तै वडा नम्बर ३ को ओलेस खानेपानी आयोजनाबाट ५५ घरधुरी र सरापकोट खानेपानी आयोजनाबाट ३१ घरधुरीले स्वच्छ खानेपानी प्रयोग गरिरहेका छन्। वडा नम्बर ४ को झडेवा क्षेत्रमा लिफ्ट प्रणालीमार्फत विभिन्न बस्तीमा खानेपानी विस्तार गरिएको छ। गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीका अनुसार वडा नम्बर ५ मा बडरडी, कप्टी–मौलाथर, पिसेलुङ र माथागढी खानेपानी आयोजना निर्माणाधीन छन्। यस्तै वडा नम्बर ६ मा अलैचे, ढुङ्ग्रेखोला, पुरनपानी र टोक्लोक्डी खानेपानी आयोजना तीव्र गतिमा निर्माण भइरहेका छन् भने वडा नम्बर ८ को बहादुरपुरमा बेतेनी लिफ्ट खानेपानी आयोजनाको काम जारी छ। यी सबै आयोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।

गाउँपालिकाका अनुसार निर्माणाधीन सबै आयोजना सम्पन्न भएपछि माथागढीका करिब ९५ प्रतिशत नागरिक सुरक्षित खानेपानीको पहुँचमा पुग्नेछन्। स्थानीय तह स्थापना भएयता गाउँपालिकाभित्र ३ हजार ६ सयभन्दा बढी धारा जडान भइसकेका छन्, जसबाट १३ हजार ९ सय ३८ भन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्। खानेपानीका योजना केवल पूर्वाधार निर्माणमा सीमित छैनन्। यसले ग्रामीण जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको छ। विशेषगरी महिला र बालबालिकाले पानी बोक्न खर्चिने समय बचत भएको छ, सरसफाइमा सुधार आएको छ, स्वास्थ्य जोखिम घटेको छ र दैनिक जीवन थप सहज बनेको छ। पहाडी भूगोलमा खानेपानी व्यवस्थापन चुनौतीपूर्ण मानिने भए पनि माथागढी गाउँपालिकाले स्थानीय आवश्यकता, आधुनिक प्रविधि र जनसहभागितालाई जोड्दै त्यसलाई अवसरमा रूपान्तरण गर्ने प्रयास गरिरहेको छ। गाउँ सरकारको यही सक्रियताले विकासको वास्तविक अनुभूति नागरिकको घर–आँगनसम्म पुर्याइरहेको छ।
