पाल्पा, असार १४
कृषि आधुनिकीकरणको चर्चा धेरै ठाउँमा हुन्छ, तर त्यसलाई व्यवहारमा उतार्ने काम भने केही स्थानीय तहले मात्र प्रभावकारी रूपमा गरिरहेका छन्। पाल्पाको माथागढी गाउँपालिका त्यहीमध्ये एक हो, जसले कृषकलाई कृषि औजार मात्र उपलब्ध गराएर आफ्नो जिम्मेवारी पूरा भएको ठानेको छैन। बरु ती औजारको दीर्घकालीन प्रयोग, मर्मत र व्यवस्थापनका लागि आवश्यक सीपसमेत प्रदान गर्दै कृषकलाई आत्मनिर्भर बनाउने अभियान अघि बढाएको छ। गाउँपालिकाले पछिल्ला चार वर्षमा ३ सयभन्दा बढी कृषकलाई अनुदानमा हाते ट्याक्टर (पावर टिलर) वितरण गरेको छ। खेतबारी जोत्न, रोपाइँ तथा अन्य कृषि कार्यलाई सहज बनाउने उद्देश्यले वितरण गरिएका यी ट्याक्टरले किसानको श्रम र समय दुवै बचाएका छन्। तर गाउँपालिकाले यतिमै सीमित नरही किसानलाई ट्याक्टर बिग्रिँदा सामान्य मर्मत आफैं गर्न सक्ने बनाउने उद्देश्यले विशेष तालिम सञ्चालन गरेको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयको आयोजना तथा माथागढी गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको ३९० घण्टा (६५ दिने) पावर टिलर मर्मत तालिमले कृषक र ग्रामीण युवालाई नयाँ सीप प्रदान गरेको छ। तालिमले सामान्य बिग्रिएका मेसिन बनाउन बाहिरी प्राविधिकको भर पर्नुपर्ने अवस्था कम गर्नुका साथै कृषि कार्यमा हुने ढिलाइसमेत घटाउने अपेक्षा गरिएको छ। गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीका अनुसार कृषकलाई औजार उपलब्ध गराउनु मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी प्रयोग र मर्मतसम्भारको ज्ञान पनि आवश्यक हुन्छ। यही सोचका साथ हाते ट्याक्टर प्रयोग गरिरहेका कृषकलाई तालिम प्रदान गरिएको हो। यसबाट कृषि कार्य अझ सहज, कम खर्चिलो र प्रभावकारी बन्ने विश्वास गाउँपालिकाको छ।

वडा नम्बर ३ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक तेजबहादुर घर्तीका अनुसार ग्रामीण क्षेत्रका युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने उद्देश्यले पनि यो तालिम सञ्चालन गरिएको हो। कृषि क्षेत्रमा बढ्दो यान्त्रिकीकरणसँगै मेसिन मर्मत गर्ने दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएकाले यस्तो सीप भविष्यमा आयआर्जनको माध्यमसमेत बन्न सक्छ । गाउँपालिकाले कृषि क्षेत्रमा बहुआयामिक सहयोगलाई निरन्तरता दिएको छ। हाते ट्याक्टरसँगै उन्नत बीउ, प्लास्टिक टनेल, मल्चिङ सामग्री तथा अन्य कृषि औजार वितरण गरिँदै आएको छ। उत्पादनमा आधारित अनुदानको व्यवस्थाले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गरिरहेको छ। साथै वडा नम्बर १, २ र ३ लाई तरकारी पकेट क्षेत्र, वडा नम्बर ४ लाई काफल तथा खुर्सानी पकेट क्षेत्र, वडा नम्बर ५ लाई दालचिनी उत्पादन क्षेत्रका रूपमा विकास गरिँदै आएको छ भने अन्य वडामा पनि कृषि तथा पशुपालन प्रवर्द्धनका कार्यक्रम सञ्चालन भइरहेका छन्।
गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चेका अनुसार घरमा ट्याक्टर भए पनि सामान्य समस्या आउँदा मर्मत गर्न नसक्दा किसानले अनावश्यक दुःख र खर्च बेहोर्नुपर्थ्यो। अहिले तालिमपछि उनीहरू आफैंले धेरै समस्या समाधान गर्न सक्ने भएका छन्, जसले खेतीपातीमा निरन्तरता र आत्मविश्वास दुवै बढाएको छ।
स्थानीय सरकारको प्रभावकारी भूमिका केवल अनुदान वितरणमा सीमित हुँदैन। नागरिकलाई ज्ञान, सीप र प्रविधिसँग जोडेर उत्पादनशील बनाउनु नै दिगो विकासको आधार हो। माथागढी गाउँपालिकाले कृषि क्षेत्रमा यही अवधारणालाई व्यवहारमा उतार्दै कृषकलाई लाभग्राहीबाट सक्षम र आत्मनिर्भर उत्पादक बनाउने प्रयास गरिरहेको छ। यही कारण माथागढीको कृषि अभियान अहिले अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्दै गएको छ।
