FlashNepal
मंगलबार, साउन २६, २०८३  |  August 11, 2026

ओलेस गाउँको होमस्टेले पर्यटकको मन लोभ्याउँदै

पाल्पा, असार १०

पाल्पा जिल्ला ऐतिहासिक सम्पदा, धार्मिक स्थल र प्राकृतिक सौन्दर्यका लागि परिचित छ। रानीमहल, श्रीनगर डाँडा, तानसेन दरबारजस्ता गन्तव्यले लामो समयदेखि पर्यटकलाई आकर्षित गर्दै आएका छन्। पछिल्ला वर्षहरूमा भने पाल्पाको माथागढी गाउँपालिकामा अवस्थित कौडेलेख नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको मनोरम दृश्य, जैविक विविधता, ग्रामीण संस्कृति र सामुदायिक होमस्टेको सफल अभ्यासले कौडेलेखलाई ग्रामीण पर्यटनको उत्कृष्ट नमुनाका रूपमा चिनाउन थालेको छ।
समुद्री सतहबाट उच्च उचाइमा रहेको कौडेलेखमा पुग्ने जो–कोहीलाई सबैभन्दा पहिले आकर्षित गर्ने कुरा हो– चारैतिर फैलिएको प्राकृतिक दृश्य। यहाँबाट पाल्पाका अधिकांश भूभागसँगै गुल्मी, अर्घाखाँची, स्याङ्जा र रुपन्देहीका केही क्षेत्रसम्म सहजै अवलोकन गर्न सकिन्छ। मौसम खुलेका दिनमा उत्तरतर्फ देखिने हिमशृङ्खलाले कौडेलेखको आकर्षणलाई झनै बढाइदिन्छ। बिहानको पहिलो घामले डाँडालाई सुनौलो रंगले ढाक्दा देखिने दृश्य होस् वा साँझ अस्ताउँदै गरेको सूर्यले क्षितिजमा छर्ने राताम्य रङ, दुवैले यहाँ पुग्ने पर्यटकलाई प्रकृतिसँग आत्मीय सम्बन्ध गाँस्न बाध्य बनाउँछन्।

कौडेलेख केवल दृश्यावलोकनको स्थल मात्र होइन, जैविक विविधताको पनि धनी क्षेत्र हो। वरिपरिका जंगलमा विभिन्न प्रजातिका वनस्पति, चराचुरुङ्गी र वन्यजन्तुको बसोबास छ। वर्षायाममा हरियालीले ढाकिएको वन क्षेत्रले प्रकृतिप्रेमीलाई लोभ्याउँछ भने हिउँदमा कुहिरोले ढाकिएको डाँडाको दृश्यले छुट्टै अनुभूति दिन्छ। शान्त वातावरण, स्वच्छ हावा र प्राकृतिक सुन्दरताले मानसिक विश्राम खोज्नेहरूका लागि कौडेलेख आदर्श गन्तव्य बन्ने सम्भावना बोकेको छ।
कौडेलेखको काखमा रहेको ओलेश गाउँले यस क्षेत्रको पर्यटनलाई अझ जीवन्त बनाएको छ। परम्परागत ग्रामीण जीवनशैली, स्थानीय संस्कृति र आत्मीय आतिथ्यले पर्यटकलाई घरमै पुगेजस्तो अनुभूति गराउँछ। अहिले ८३ घरधुरी रहेको गाउँमध्ये १० घरमा होमस्टे सञ्चालनमा छन् भने बाँकी घरपरिवार पनि क्रमशः होमस्टे सञ्चालनको तयारीमा जुटिरहेका छन्। यहाँ आउने पाहुनालाई स्थानीय अन्नबाट तयार गरिएका परिकार, गाउँघरको मौलिक संस्कार र प्राकृतिक परिवेशले विशेष आकर्षित गर्ने गरेको छ। यही अनुभव नै आधुनिक होटलभन्दा फरक र स्मरणीय बनेको छ।

ओलेशका स्थानीयवासीका अनुसार होमस्टे सञ्चालनपछि गाउँमा आर्थिक गतिविधि बढ्न थालेको छ। कृषि उत्पादनले बजार पाएको छ भने स्थानीय युवाले गाउँमै स्वरोजगारका अवसर देख्न थालेका छन्। पर्यटनले गाउँको अर्थतन्त्रलाई चलायमान बनाउने संकेत देखिन थालेपछि स्थानीय समुदायमा पनि पर्यटनप्रति उत्साह बढेको छ।     कौडेलेखलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच सहकार्य भइरहेको छ। माथागढी गाउँपालिकाले पर्यटनलाई स्थानीय आर्थिक विकासको प्रमुख आधार मान्दै पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ।

वडा नं. ३ का अध्यक्ष तेजबहादुर घर्तीका अनुसार कौडेलेख–ओलेश क्षेत्रको विकास, संरक्षण र प्रचारप्रसारलाई योजनाबद्ध रूपमा अघि बढाइएको छ। लुम्बिनी प्रदेश सरकारको १५ लाख रुपैयाँ आर्थिक सहयोगमा भाइरल पुल, विश्रामस्थल, बेन्चलगायतका पर्यटकीय संरचना निर्माण गरिएका छन्। स्थानीय भूपू सैनिकहरूको करिब १० लाख रुपैयाँ सहयोगमा निर्माण भएको भ्यूटावर अहिले पर्यटकको प्रमुख आकर्षण बनेको छ। यसले स्थानीय समुदायको सहभागिता र अपनत्वलाई समेत स्पष्ट रूपमा देखाएको छ।

पर्यटन विकासमा सडक पहुँचको भूमिका महत्वपूर्ण हुन्छ। यही आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकार र गाउँपालिकाको करिब डेढ करोड रुपैयाँको लगानीमा कौडेलेख पुग्ने मोटरबाटो निर्माण भइरहेको छ। हालसम्म पालिका, प्रदेश र संघीय सरकारबाट सडक पूर्वाधारमा मात्रै करिब दुई करोड ५० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। सडक विस्तारसँगै पर्यटकको आगमन बढ्ने, स्थानीय कृषि उत्पादनले सहज बजार पाउने र व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ।

माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी कौडेलेखको पर्यटन विकासलाई प्राकृतिक सम्पदासँगै स्थानीय संस्कृति र जीवनशैलीसँग जोडेर अघि बढाउनुपर्ने बताउनुहुन्छ। उहाँका अनुसार यहाँ आउने पर्यटकले केवल दृश्य मात्र हेर्ने होइन, गाउँको संस्कृति बुझ्ने, स्थानीय परिकारको स्वाद लिने, कृषिमा आधारित जीवनशैली अनुभव गर्ने र ग्रामीण समाजसँग घुलमिल हुने अवसर प्राप्त गर्छन्। यही विशेषताले कौडेलेखलाई अन्य पर्यटकीय गन्तव्यभन्दा फरक बनाएको उहाँको भनाइ छ।    पर्यटनको दीगो विकासका लागि पूर्वाधार निर्माण मात्र पर्याप्त हुँदैन। वातावरण संरक्षण, फोहोर व्यवस्थापन, स्थानीय संस्कृतिको संरक्षण, होमस्टेको गुणस्तर अभिवृद्धि, पर्यटक सुरक्षाको व्यवस्था र प्रभावकारी प्रचारप्रसार पनि उत्तिकै आवश्यक छन्। सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत कौडेलेखको प्रचारप्रसार बढाउन सके यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई समेत आकर्षित गर्न सक्ने सम्भावना रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ।

आज कौडेलेख केवल एउटा रमणीय डाँडा मात्र होइन, सम्भावनाले भरिएको ग्रामीण पर्यटनको केन्द्र बन्दै गएको छ। स्थानीय सरकारको योजना, समुदायको सक्रिय सहभागिता र प्राकृतिक सम्पदाको उचित संरक्षणलाई निरन्तरता दिन सकिए कौडेलेखले पाल्पाको पर्यटन क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने मात्र होइन, स्थानीय आर्थिक समृद्धिको बलियो आधार पनि बन्न सक्छ। प्रकृति, संस्कृति र समुदायको सुन्दर संगमका रूपमा विकसित हुँदै गएको कौडेलेखले भविष्यमा नेपालको उत्कृष्ट ग्रामीण पर्यटकीय गन्तव्यहरूमध्ये एक बन्ने स्पष्ट सम्भावना बोकेको छ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com