एजेन्सी । इरान र इजरायलबीचको बढ्दो द्वन्द्वका माझ अमेरिकाले इरानमाथि सैन्य कारबाहीको तयारी गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा उच्चस्तरीय बैठक गरेपछि एक अमेरिकी अधिकारीले इरानको महत्वपूर्ण आणविक केन्द्रमा आक्रमणको सम्भावनाबारे बताएका छन् । यसैबीच, अमेरिका र बेलायतले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति र तयारीलाई तीव्रता दिएका छन् ।
मंगलबार राति राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसको सिचुएशन रुममा इरान–इजरायल द्वन्द्व र यसको सम्भावित प्रभावबारे एक घण्टा २० मिनेट लामो गहन बैठक गरेका थिए । यस बैठकपछि एक अमेरिकी अधिकारीले सञ्चारमाध्यमलाई बताएअनुसार, ट्रम्पले इरानको फोर्डोस्थित आणविक केन्द्रमा आक्रमण गर्ने विषयमा विचार गरिरहेका छन् ।
ती अधिकारीका अनुसार अमेरिकाले ‘बंकर–बस्टर’ बम प्रयोग गरी जमिनभित्र गहिरोमा रहेको इरानको यो आणविक केन्द्रलाई निशाना बनाउन सक्नेछ । अमेरिकी अधिकारीहरूले ट्रम्पको मुख्य लक्ष्य इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा निस्तेज पार्नु रहेको बताएका छन् । यसबाहेक, लामो दूरीमा आक्रमण गर्न सकून् भन्ने उद्देश्यले अमेरिकी ट्याङ्कर विमानहरूले इजरायली लडाकु विमानहरूलाई आकाशमै इन्धन आपूर्ति गर्न सक्नेगरी तयारी भइरहेको न्यूयोर्क टाइम्सको एक रिपोर्टमा उल्लेख छ । इरानमाथि इजरायलको आक्रमण क्षमतालाई बढाउन अमेरिकाले सहयोग गर्ने देखिएको छ ।
अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य शक्ति सुदृढ पार्न पनि कदम चालेको छ । हाल हिन्द महासागरस्थित डिएगो गार्सिया बेसमा इरानमाथि आक्रमणको दायराभित्र पर्ने गरी चार अमेरिकी बी–५२ स्ट्र्याटोफोट्र्रेस बमवर्षक विमान तैनाथ गरिएका छन् । अमेरिकाले यसअघि नै मध्यपूर्वमा लडाकु विमानको तैनाथी बढाउने निर्णय गरिसकेको थियो ।
यसै क्रममा बेलायतले पनि मध्यपूर्वमा आफ्नो लडाकु विमानहरू तैनाथ गरेको छ । बेलायती रक्षा सचिव जोन हेलीले साइप्रस र ओमानमा रहेका बेलायती जनताको सुरक्षा, यस क्षेत्रमा तनाव कम गर्न र सुरक्षा बलियो बनाउन सैन्य तैनाथी बढाइएको बताएका छन् । उनका अनुसार यी लडाकु विमानहरू आफ्ना सहयोगी देशहरूलाई आवश्यक परेको बेला मद्दत गर्न पनि प्रयोग गर्न सकिनेछ ।
इरानले अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गर्न सक्ने चेतावनी
यसैबीच, अमेरिकाको सम्भावित कदमको प्रतिक्रियामा इरानले पनि तयारी गरिरहेको न्यूयोर्क टाइम्सले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ । रिपोर्ट अनुसार, इरानले अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गर्ने योजना बनाएको छ र आवश्यक परेमा अमेरिकामाथि आक्रमण गर्न सक्ने गरी मिसाइल र हतियार तयार पारेको छ ।
यदि अमेरिका इजरायलको पक्षमा इरानसँगको युद्धमा प्रत्यक्ष सामेल भयो भने इरानले यी ठाउँहरूमा आक्रमण गर्न सक्छ । रिपोर्टमा उल्लेख भएअनुसार, दुई जना इरानी अधिकारीहरूले यदि अमेरिका इजरायलसँगको युद्धमा सामेल भयो भने, उनीहरूले पहिले इराकमा रहेका अमेरिकी अड्डाहरूमा आक्रमण गर्ने स्वीकार गरेका छन् । यसपछि, अन्य अरब देशहरूमा रहेका अमेरिकी अड्डाहरू पनि उनीहरूको निशाना हुनेछन् ।
अमेरिकाले पनि इरान विरुद्धको सम्भावित युद्धको लागि तयारी स्वरूप युरोपमा करिब तीन दर्जन रिफ्युलिङ विमानहरू पठाएको छ । यी विमानहरू या त अमेरिकी जेटहरूलाई आफ्नो आधारहरूको रक्षाका लागि इन्धन भर्न प्रयोग गरिनेछन्, वा ‘फोर्डो’ जस्ता इरानको आणविक स्थलहरूमा आक्रमण गर्न सक्ने बमवर्षकहरूलाई सहयोग पुर्याउन प्रयोग हुनेछन् ।
यद्यपि अमेरिका युद्धमा होमियो भने इरान समर्थित हुथी विद्रोही लडाकुहरूले लाल सागरमा अमेरिकी जहाजहरूमाथि पुनः आक्रमण गर्न थाल्ने अमेरिकी अधिकारीहरूलाई डर छ । केही अधिकारीहरूले इरानले अमेरिकी जहाजहरूलाई आफ्नो बाटोमा रोक्नको लागि होर्मुजको जलडमरूमध्यमा बारुदी सुरुङहरू बिछ्याउन सक्ने अनुमान समेत गरेका छन्, जुन विश्वको एक महत्वपूर्ण तेल ढुवानी मार्ग हो ।
यी सबै सम्भावित खतरालाई ध्यानमा राख्दै अमेरिकाले युएई, जोर्डन र साउदी अरेबिया जस्ता देशहरूमा आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ । हाल मध्यपूर्वमा ४० हजारभन्दा बढी अमेरिकी सैनिकहरू उपस्थित छन् ।
