FlashNepal
आइतबार, मंसिर ०६, २०८३  |  November 22, 2026

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिनु निराधार र अनुचित भएको बताएका छन् । एकजना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री लेखकको राजीनामा माग्नु अनुचित भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछि प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने बताए ।

“प्रतिक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु । तर, माग राख्दा वा विरोध गर्दा आधार चाहिन्छ । गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन्,” उनले भने, “एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई यो सरकार नै मन परेको छैन । उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन ।”

प्रधानमन्त्री ओलीले गतवर्ष तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उनीमाथि सीआईबीले छानबिन गरिरहेको स्मरण गरे । तर, अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ छ ।

“अहिले यसरी विरोध गरिएको छ कि मानौँ ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन,” उनले भने । विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा नहुने उनले स्पट पारे ।

कांग्रेसका केही नेताले गृहमन्त्री लेखकको राजीनामा मागेको सन्दर्भमा उनले पार्टीभित्रको समस्या पार्टीभित्रै मिलाउनुपर्ने बताए । घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई ‘डिष्टर्ब’ हुने गरी नगर्न प्रधानमन्त्री ओलीको आग्रह छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com