FlashNepal
आइतबार, भाद्र ०७, २०८३  |  August 23, 2026

काठमाडौँ । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिनुभयो । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो ।

आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उहाँले जानकारी दिनुभयो ।

“निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो । प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको हो”, प्रजिअ तिवारीले भन्नुभयो ।

नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आज सूचना गरी काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ । बन्दको समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com