FlashNepal
शनिबार, मंसिर ०५, २०८३  |  November 21, 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधिजस्तो भएको टिप्पणी गरेकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी हुन् ।

विश्व व्यवस्था र अर्थतन्त्रको सिको गर्न खोज्दा नेपाल ग्रे लिष्टमा परेको उनको टिप्पणी छ । उनले मुलुकमा देखिएका समस्या समाधान गर्ने नाममा एकात्मक राज्यलाई संघात्मकतिर लैजानु घातक रहेछ भन्ने कुरा प्रष्ट भएको जिकिर गरिन् ।

वर्तमान व्यवस्था अग्रगमन नभएर प्रतिगमन भएको उनको भनाइ छ । उनले शासन प्रणालीको छनौट, प्रतिनिधित्वको प्रणाली चयन, सरकारको स्वरुप निर्धारण र आर्थिक, सामाजिक, राजनीतिक अधिकारको समुचित बाँडफाँड हुनुपर्नेमा त्यस्तो नभएको बताइन् ।

उनले भनिन्, ‘अहिले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधि जस्तै हुँदैछ सभामुख महोदय । विश्वको सिको गर्न खोज्दा आज नेपाल ग्रे लिष्टमा पर्‍यो । समस्या समाधान गर्ने नाममा एकात्मक राज्यलाई संघात्मकतिर लैजानु घातक रहेछ भन्ने कुरा प्रष्ट देखिएको छ । यो व्यवस्था अग्रगमन नभएर प्रतिगमन हो ।

सर्वप्रथम त राज्यको पुनःसंरचना गर्ने भनेपछि त्यसलाई विभिन्न कुराले प्रभाव पारेको हुन्छ सभामुख महोदय ।  शासन प्रणालीको छनौट, प्रतिनिधित्वको प्रणाली चयन सरकारको स्वरुप निर्धारण र आर्थिक, सामाजिक, राजनीतिक अधिकारको समुचित बाँडफाँड हुनुपर्ने हो ।

तर यहाँ त्यस्तो देखिँदैन ।’ उनले सरकारले फरक विचार बोकेकै कारण तीनकुने घटनापछि राप्रपा नेताहरुलाई थुनेको भन्दै आपत्ति जनाइन् ।

 

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com