FlashNepal
मंगलबार, साउन ०५, २०८३  |  July 21, 2026

ताललाई प्राकृतिक वरदान ठान्ने पोखरावासी १० वर्षयता ताल वरपरको वातावरणमा आएको अकल्पनीय परिवर्तनबाट चिन्तित छन् । भविष्यको पिंढीका लागि यो सम्पदा कसरी जोगाउने भन्ने चिन्ता उनीहरूमा छ ।८ चैत, पोखरा । फेवातालको अन्तिम विन्दु अर्थात् पूर्वी सीमा ड्यामसाइडकी स्थानीय ५३ वर्षीया शोभा श्रेष्ठलाई फेवातालको रूपरंग सम्बन्धमा ३० वर्ष अघिदेखि नै शुरू भएको चिन्ताले अझै छोडेको छैन । भन्छिन्, ‘आँखै अगाडि, दिन प्रतिदिन फेवाताल सुक्दै गयो, मैलो हुँदै गयो ।’ घरको जुनै कुनाबाट बाहिर हेर्दा आँखैभरि लहराउने फेवाको स्वच्छ, निर्मल पानीका सौम्य छाल अनि त्यही छालबाट निस्कने शीतल तरंगहरूले उनको गृहस्थीको शुरूआत नै तरंगित बनाएको थियो । उनलाई याद छ– धारामा पानी नआउँदा गाग्री बोकेर तालको किनार पुगेको । उनका भनाइमा, वल्लो–पल्लो गाउँ–टोलका साथीसँगीलाई सार्वजनिक धारामा घन्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता थियो उतिबेला । तर, पिउने र खाना पकाउने बाहेक, अन्य घरायसी कामकाजका लागि पानी खोज्न कहीं टाढा धाउनुपरेन उनलाई । ताललाई मैलो हुनबाट जोगाउन गरेका दौडधुप पनि उनका स्मरणमा ताजै छन् । जति नै झन्झट भए पनि तालमा पुगेर नुहाइ–धुवाइ, लुगा धुलाइ लगायत घरायसी काम गरिनन् उनले । ‘गाग्रीबाटै तालको पानी ओसार्ने गर्थ्यौं तर अब त ताल छुन पनि घिन लाग्ने भइसक्यो’, उनले भनिन् । फेवाको उत्तरी सिरान खहरेकी स्थानीय शान्ति पहारीको पनि फेवाताल वरपरको वातावरणप्रतिको मनोभावना, आत्मीयता र भोगाइ उस्तै छ । पछिल्ला वर्षमा जति सफाइ गरे पनि तालको प्रदूषण नघटेको उनी बताउँछिन् । ‘आज फोहोर झिकेर फाल्यो, दुई दिनमा उस्तै भइहाल्छ’ लेकसाइडस्थित स्थानीय खहरे आमा समूहकी अध्यक्ष समेत रहेकी पहारी भन्छिन्, ‘पछिल्ला वर्षमा ताल सुक्दै गयो, गरिखाने भन्नेहरूका कर्तुतहरू प्नि देखिंदै गए ।’ तालको पानी सुक्दै जाँदा तालमा लुकाइ–छिपाइ मिसाइएका फोहोरका ढलहरू एकपछि अर्को गर्दै फेला पर्न थालेको वास्तविकता प्रति लक्षित गर्दै उनले सो कुरा भनेकी हुन् । ‘पहिले–पहिले अँजुलीमा झिकेर पानी पिउने गरेको फेवातालमा अहिले खुट्टा राख्न घिन लाग्छ’ फेवा खपौंदीकी मीना जलारी भन्छिन्, ‘तालको प्रदूषणले रोजीरोटी समेत गुमिरहेको छ । एकदशक अघिसम्म दिनमा ३० केजीसम्म माछा झिक्ने गरेकी मलाई अहिले ५ केजी माछा भेट्टाउन लगभग दिनै खर्चिनुपर्छ ।’

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com