FlashNepal
शनिबार, भाद्र ०६, २०८३  |  August 22, 2026

काठमाडौं । थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले मंगलबार पुनः म्याद थपका लागि अदालत पेस गर्ने तयारी गरेको छ । चैत १५ गते नै पक्राउ परेका मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थपका लागि अदालत पेस गर्न लागिएको हो ।

राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेको गरेको प्रदर्शनमा अराजकता र लुटपाट गराउन भूमिका खेलेको आरोपमा मिश्र र धवलशमशेर राणासहतिलाई पक्राउ गरेको थियो । राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान अघि बढाएको छ । मिश्रसहित उनीपछि पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामै छन् ।

मिश्रलाई प्रहरीले पहिलोपटक थुनामा राखेर अनुसन्धान गर्न चैत १६ गते पाँच दिनको अनुमति पाएको थियो । चैत २० गते सात दिनको म्याद पाएको प्रहरीले चैत २७ गते १५ दिनको म्याद लिएर थुनामा राखेको थियो ।

यस्तै, वैशाख १० गते तीन दिन र वैशाख १४ गते सात दिन र वैशाख २१ मा पाँच दिनको म्याद पाएको थियो । मंगलबार उक्त समय अवधि सकिएसँगै पुनः म्याद थपका लागि जिल्ला अदालत पेस गर्न लागिएको हो । मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालेको छ । प्रसाईंसहित केहीलाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ ।

तीनकुने घटनामा अराजक प्रदर्शन गर्ने, लुटपाट गर्ने करिब ९० जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । त्यसमध्ये २४ जना प्रहरीले थुनामा राखेर अनुसन्धान जारी राखेको छ । केहीलाई भने थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com