FlashNepal
बुधबार, भाद्र २४, २०८३  |  September 9, 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा तोकेन्द्र गहतराज निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न दोस्रो सम्मेलनबाट गहतराजको नेतृत्वमा ४१ सदस्यीय नयाँ समिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।

नवगठित समितिमा उपाध्यक्षहरूमा सुदर्शन लम्साल, सुवास लामा, रेशम बहादुर पाख्रिन र शारदा आचार्य चयन भएका छन् । सचिवमा छन्द प्रसाद नेपाल (सिपी), सहसचिवहरूमा राजेश तामाङ र राजन भुजेल तथा कोषाध्यक्षमा ज्ञानसिं वाइवा निर्वाचित भएका छन् ।

त्यस्तै, सम्मेलनले अनुशासन समितिको प्रमुखमा देवराज बस्नेत र लेखा समितिको प्रमुखमा केदार चौलागाईंलाई चयन गरेको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को अध्यक्षमा रिना घिमिरेलाई जिम्मेवारी दिइएको जिल्ला निर्वाचन समितिका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार सम्पूर्ण समिति सर्वसम्मत रुपमा चयन गरिएको हो। निर्वाचित समितिलाई पार्टी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, केसव नेपाल, माधव सापकोटा, युवराज दुलाल, अमृता नेपाल, प्रदेश अध्यक्ष सरल सहयात्री पौडेललगायत सिन्धुपाल्चोकका नेताहरूले अविर र खादा लगाएर बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए । सम्मेलनकै अवसरमा विभिन्न पार्टी परित्याग गरी माओवादी प्रवेश गरेका कार्यकर्ताहरूलाई अध्यक्ष दाहालले स्वागत गरेका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com