FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार गण्डकी प्रदेशले लज्जास्पद हार बेहोरेको छ । गण्डकीलाई नेपाल पुलिस क्लबले सजिलै ७ विकेटले पराजित गरेको हो । सिद्धार्थनगरमा भएको खेलमा पहिले ब्याटिङ गरेको गण्डकी २३.२ ओभरमात्र क्रिजमा टिकेर ९२ रनमा अलआउट भयो ।

अर्जुन कुमालले ४८ रन बनाएको इनिङ्समा दोस्रो उच्च स्कोर गण्डकीले अतिरिक्तका रुपमा १४ रन पाएको थियो । गण्डकीमाथि हाबी हुने क्रममा पुलिसका लागि ललित राजबंशी र गुल्सन झाले बहार ल्याएका थिए । ललितले ७ रन दिएर ५ विकेट लिए । त्यस्तै गुल्सनले ४२ रन दिएर ४ विकेट लिए ।

जवाफमा पुलिसले १६ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान दिपेन्द्र सिंह ऐरीले २३ बलमा ६ छक्का र ३ चौकाको मद्धतले ५४ रन बनाए । यो जितसँगै पुलिसले अपराजित यात्रालाई कायमै राखेको छ ।

आजका अन्य खेल

आज अन्य दुई खेल भइरहेका छन् । भैरहवामा लुम्बिनीले सुदूरपश्चिमसँग खेलिरहेको छ । लुम्बिनीले टस जितेर पहिले ब्याटिङ गरेको छ । त्यस्तै लमहीमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशसँग खेलिरहेको छ । आर्मीले टस जितेर पहिले ब्याटिङ गरेको छ ।

अंक तालिका

१० टिम सहभागी प्रतियोगितामा ६ खेलबाट १२ अंकसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेको छ । ५ खेलबाट १० अंकसहित त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ । लुम्बिनी प्रदेश ५ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ भने सशस्त्र प्रहरीको एपीएफ ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ ।

कर्णाली प्रदेश र बागमती प्रदेश ५ खेलबाट ४ अंकसहित क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । मधेस प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको समान २–२ अंक छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com