ओलेस गाउँको होमस्टेले पर्यटकको मन लोभ्याउँदै
पाल्पा, असार १०

पाल्पाको अग्लो डाँडामा अवस्थित कौडेलेख प्राकृतिक सौन्दर्य, जैविक विविधता र ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। समुद्री सतहबाट उच्च उचाइमा रहेको यस क्षेत्रबाट पाल्पासहित छिमेकी जिल्लाका मनोरम भू–दृश्य अवलोकन गर्न सकिन्छ। मौसम खुलेका बेला हिमशृङ्खलाको दृश्यसमेत देखिने भएकाले यहाँ पुग्ने पर्यटक लोभिने गरेका छन्।

बिहानको सुनौलो सूर्योदय र साँझको मनमोहक सूर्यास्त कौडेलेखको प्रमुख आकर्षण हुन्। वर्षायाममा हरियालीले ढाकिएको डाँडा र हिउँदमा कुहिरोले सिर्जना गर्ने प्राकृतिक दृश्यले यहाँको सौन्दर्यलाई अझ मनमोहक बनाउँछ। वरिपरिका वन क्षेत्रमा पाइने विभिन्न वनस्पति र वन्यजन्तुले यस क्षेत्रको जैविक विविधतालाई थप समृद्ध बनाएका छन्।

कौडेलेखको फेदीमा रहेको ओलेस गाउँले यस क्षेत्रको पर्यटन सम्भावनालाई अझ उचाइ दिएको छ। पछिल्लो समय ओलेस गाउँमा सञ्चालनमा आएका होमस्टेहरूले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाइरहेका छन्। माथागढी गाउँपालिका–३ का वडा अध्यक्ष तेजबहादुर घर्तीका अनुसार कौडेलेख र ओलेस गाउँलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न वडा, गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र संघीय सरकारको सहकार्यमा विभिन्न पूर्वाधार निर्माण भइरहेको छ।

लुम्बिनी प्रदेश सरकारको १५ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएका भाइरल पुल, विश्रामका लागि कुर्सी, बेन्च लगायतका भौतिक संरचनाले पनि पर्यटकको ध्यान आकर्षित गरेका छन्। त्यस्तै, स्थानीय भूपू सैनिकहरूको करिब १० लाख रुपैयाँको सहयोगमा निर्माण गरिएको भ्यूटावर कौडेलेखको अर्को प्रमुख आकर्षण बनेको छ। यहाँबाट देखिने मनोरम हिमशृङ्खला, पहाडी भू–दृश्य र सूर्योदय–सूर्यास्तको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकको मन जितिरहेको छ।हाल प्रदेश सरकार र गाउँपालिकाको करिब डेढ करोड रुपैयाँको लगानीमा कौडेलेख जोड्ने मोटरबाटो निर्माण भइरहेको छ। हालसम्म सडक पूर्वाधारमा मात्रै पालिका, प्रदेश र संघीय सरकारबाट करिब दुई करोड ५० लाख रुपैयाँ लगानी भइसकेको वडा अध्यक्ष घर्तीले जानकारी दिनुभयो। ओलेस गाउँका ८३ घरधुरीमध्ये हाल १० घरमा होमस्टे सञ्चालनमा छन् भने बाँकी घरधुरीलाई पनि होमस्टे सञ्चालनका लागि तयारी गरिँदैछ। यसले स्थानीयको आयआर्जनसँगै ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले स्थानीय जीवनशैली, संस्कृति, परम्परा, मौलिक परिकार र आत्मीय आतिथ्यले कौडेलेख क्षेत्रलाई विशेष बनाएको बताउनुभयो। उहाँका अनुसार यहाँ पुग्ने पर्यटकले ग्रामीण जीवनको वास्तविक अनुभवसँगै स्थानीय उत्पादन र संस्कृतिको स्वाद लिन पाउँछन्।

सडक पहुँचमा सुधार हुँदै जाँदा कौडेलेख पुग्न सहज बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पूर्वाधार विकासलाई प्रभावकारी रूपमा पर्यटनसँग जोड्न सके यस क्षेत्रको मात्र होइन, समग्र भेगकै आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास अध्यक्ष चिदीले व्यक्त गर्नुभयो।