पाल्पा-रैनादेवी छहरा गाउँपालिकाले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै उत्पादन बढाउने उद्देश्यका साथ ठूलो संख्यामा कृषि उपकरण वितरण गरेको छ।
गाउँपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी पालिका भित्रका १५२ जना व्यावसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा प्रविधिमैत्री कृषि सामग्री हस्तान्तरण गरेको हो।
पालिकाले कृषकको माग र आवश्यकताका आधारमा ९१ वटा मिनिटिलर हाते ट्याक्टर, ५२ वटा कुटानी पिसानी मिल र ९ वटा घाँस काट्ने मेसिन (चापकट) प्रदान गरेको कृषि शाखा प्रमुख सृजना थापाले जानकारी दिनुभयो।
सामग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष रुकामांगत भट्टराईले कृषिमा लागत घटाउन र युवा पुस्तालाई कृषिमा आकर्षित गर्न प्रविधिको विकल्प नरहेको बताउनुभयो।
पालिकाको समृद्धिको मुख्य आधार नै कृषि भएको उल्लेख गर्दै भट्टराईले गोरुको विकल्पमा मिनिटिलर र हातले गर्ने कामका लागि मेसिन प्रयोग गर्दा कृषकको समय र श्रम दुवै बचत हुने भएकाले पालिकाले लगानी गरेको स्पष्ट पार्नुभयो। उपकरण पाएपछि स्थानीय कृषकहरू निकै उत्साहित देखिएका रैनादेवी छहरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपालले बताउनुभयो ।
पहिले गोरु पाल्न र जोत्न कठिन हुने गरेकोमा अब आफ्नै मेसिन भएपछि समयमै खेती गर्न सकिने भन्दै कृषकहरूले खुसी व्यक्त गरेका छन्।
गाउँपालिका परिसरमा आयोजित उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियार, जिन्सी शाखा प्रमुख प्रकाश केसी, विभिन्न वडाका अध्यक्षहरू, विषयगत शाखाका प्रमुखहरू तथा ठूलो संख्यामा कृषकहरूको उपस्थिति रहेको थियो।