काठमाडौं । मुलुकका सार्वजनिक निकायहरूको लेखापरीक्षण गर्ने सर्वोच्च निकाय महालेखापरीक्षकको कार्यालयको ६७ औं वार्षिकोत्सव आइतबार विशेष समारोहकाबीच सम्पन्न भएको छ ।
समारोहमा सभामुख देवराज घिमिरेले सरकारी बेरुजु बढ्दै जानु चिन्ताजनक भएको बताउँदै जिम्मेवार पदाधिकारीले यसलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखे । बेरुजु हुन नदिने र भएका बेरुजु तत्काल फछ्र्योट गर्न पर्याप्त जनशक्ति व्यवस्थापनसहित लेखा उत्तरदायी अधिकारीहरूले जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाइ थियो ।
महालेखापरीक्षक तोयम रायाले पनि सरकारी निकाय र स्थानीय तहहरूमा बढ्दो अनियमितता र बेरुजु नियन्त्रणका लागि थप सजग हुन सुझाव दिएका छन् ।
वार्षिकोत्सव अवसरमा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका कर्मचारीहरूलाई पुरस्कार वितरण गरिएको थियो । साथै, पूर्व महालेखापरीक्षकहरूलाई सम्मान र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई हौसला स्वरूप सम्मान गरिएको कार्यालयले जनाएको छ ।
