FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म आन्दोलन नरोकिने जनाएको छ ।

शिक्षा पत्रकार समूहले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसद्बाट विद्यालय शिक्षा विधेयक पारित हुने अवस्था नभएसम्म आन्दोलन नरोकिने बताएका हुन् ।

उनले विधेयक प्रतिनिधिसभाबाट पारित भए राष्ट्रियसभाबाट पारित हुन र राष्ट्रपतिबाट प्रमाणीकरण हुन समय नलाग्ने जिकिर गरे । त्यसका लागि मिति तोकेर नै विधेयकको प्रक्रियालाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष सुवेदीले आन्दोलन निर्णायक नभएसम्म कुनै पनि शिक्षक विद्यालय नफर्कने स्पष्ट पारे । आन्दोलनलाई सफल बनाउन प्रत्येक शिक्षकबाट एकसय रुपैयाँ उठाउन सर्कुलर गरिएको र त्यही उठेको रकमबाट आन्दोलन चलिरहेको उनले बताए ।

विद्यालय शिक्षा विधेयक अघि बढाउन विभिन्न राजनीतिक दलको ढोकामा गए पनि उनीहरूले वेवास्ता गरेका कारण अहिलेको अवस्था आएको उल्लेख गरे । आफूहरूको आन्दोलनका कारण पढाइमा पर्ने असरको क्षतिपूर्ति आफूहरू दिन तयार रहेको उनले बताए ।

अध्यक्ष सुवेदीले बाधा नपारिकन सुन्ने चरित्र राज्यको नभएकाले आफूहरूले कठोर आन्दोलन गर्नुपरेको जिकिर गरे ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com