FlashNepal
बिहिबार, आषाढ २५, २०८३  |  July 9, 2026

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सोमबारदेखि रातको समयमा बन्द गरिने भएको छ । सडक विस्तार छिटो सम्पन्न गर्न सोमबारदेखि रातको समयमा सडक बन्द गर्न लागिएको हो ।

नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा सोमबारराति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । सोमबारदेखि यही वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा सवारीसाधन रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार हुने उनले बताए ।

गत चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो । दाउन्नेको पहाडमा भित्ता काट्ने काम १५ दिनमा सक्ने गरी रातको समयमा आवश्यकताअनुसार बत्तीको व्यवस्था गरेर काम अगाडि बढेको खनालले जानकारी दिए ।

१४ किलोमिटर दाउन्ने क्षेत्रको पहाडमध्ये पूर्वी खण्डमा चार किलोमिटर सडक अप्ठ्यारो भएको खनालको भनाइ छ । नारायणघाट–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये एक सय किलोमिटर चार लेखनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुनेछ । सहरी क्षेत्रको सडकमा दुवैतर्फ अतिरिक्त सर्भिस लेन रहने गरी काम भइरहेको खनालको भनाइ छ ।

खनालका अनुसार दाउन्नेको पूर्वी खण्डमा मात्रै ७० वटा कल्भर्ट निर्माण गर्नुपर्नेछ । राजमार्ग बन्द गरेर सडकमा भएका खाल्डाखुल्डी पुर्ने र त्यसपछि पहाडको भित्ता काट्ने काम अगाडि बढाइने उनले बताए । गत चैतको अन्तिम साता परेको सामान्य वर्षाका कारण हिलो हुँदा यहाँको सडकमा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com