बसन्त परियार
तत्काल अधिकारसम्पन्न एक जाँचबुझ समिति गठन गर्ने र सम्पूर्ण पक्षको विश्वसनीय र विधिवत छानबिन गर्न उचित हुन्छ । अब उद्दण्ड खेतालामार्फत हिंसा मच्चाउने र देशलाई स्थायी अस्थिरतामा लगेर दाउमा राख्ने, सत्ताको च्याँखे थाप्ने अनि विधिवत जनअनुमोदनबिना वा संसद् छलेर कोही व्यक्ति सर्वोच्च शासक बन्ने सपना देख्ने कुनै गुन्जायस बाँकी छैन भनेर पनि संसद्ले सुन्न, देख्न र बोल्न पाउने र सर्वसाधारणले समेत प्रस्ट बुझ्ने गरी प्रतिवेदन लेखिनु अनिवार्य देखिन्छ । ताकि सत्ता वा अन्य मोहमा आततायी बन्न तयार जो कोहीलाई राज्यले चिसो पानीले नुहाइदिएर शान्त पार्न सकोस ।
काठमाडौं । दुई साता अघि राजसंस्था पक्षधरहरूलाई शान्तिपूर्ण विरोध प्रदर्शनका लागि स्थानीय प्रशासनले काठमाडौंको तीनकुने क्षेत्र प्रदान गरेको थियो । तर आन्दोलन अशान्त देखियो । आन्दोलनका क्रममा एक टेलिभिजन पत्रकारसहित दुई जनाको ज्यान गयो । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीमाथि धरपकड गरियो र आगो लगाइयो । कान्तिपुर टीभी र अन्नपूर्ण पोस्टजस्ता सञ्चारगृहका कार्यालयमा आक्रमण प्रयास गरियो । एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरियो । निजी घर, गाडी तथा सार्वजनिक सम्पत्ति जलाइयो । भाटभटेनी सुपरमार्केटमा लुटपाट गरियो । आगो निभाउन गएको दमकलसमेत रोकियो, तोडफोड गरियो र फर्काइयो ।
प्रहरी तथ्यांकअनुसार प्रदर्शनकारीले १२ स्थानमा आगजनी गरेका र निजी तथा सरकारी गरी १८ भवन तोडफोड गरेका छन् । उक्त प्रदर्शनको जिम्मेवारी कसैले लिएको छैन । प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं भने फरार छन् भने राप्रपा नेता रवीन्द्र मिश्र र धवलशमशेर राणा तथा चोरी, तोडफोड र लुटपाट मा संलग्न केही व्यक्ति प्रहरी हिरासतमा छन् ।
केही वर्षदेखि पूर्व राजा शाहबाट देशभित्र र बाहिर भइरहेका नियमित तीर्थाटन र भेटघाट, प्रजातन्त्र दिवसका अवसरमा आउने वक्तव्य, आफ्ना पूर्वसहयोगी र शुभचिन्तकलाई भेट्ने र संगठित हुने माहोल मिलाउनेजस्ता क्रियाकलाप गरिरहेका थिए । आन्तरिक हिसाबले राप्रपाको नेतृत्व फेरबदल र समीकरण बनाउने–भत्काउने, धार्मिक, सामाजिक संगठनमा पहुँच बढाउने, राजसंस्थाको आवश्यकताका नाममा लबिइङका लागि प्रेरित गर्ने काम निरन्तर गर्दै आएका थिए ।
पूर्व राजाले प्रजातन्त्र दिवसका दिन अब बेला आयो, हामीलाई सहयोग गर्नुहोस भनेर आफू फेरि राजनीतिमा फर्किने र अहिलेका प्रणाली, पात्र र प्रवृत्तिको विकल्प भएको आशय औपचारिक रूपमा बोले । साथै, आफू विकल्प भएको, आफूमा जनमत फर्किएको र जनप्रिय हुँदै आएको पुष्टि गर्न प्रदर्शन गर्ने चाँजोपाँजोसमेत मिलाए । त्यसैको रुप थियो, गत फागुन २५ मा उनका समर्थकले गरेको स्वागत भनिएको कार्यक्रम एउटा त्यस्तै कदम थियो । उनका विश्वासका केही समूहको संयुक्त पहलमा उनलाई विमानस्थलबाट निर्मल निवाससम्म पुर्याइएको थियो । स्वागत भव्य नै देखिएको । त्यसबाट शाह र समर्थकको उत्साह बढ्यो ।
त्यसरी राजनीतिमा निष्क्रिय रहेका महेन्द्रकालीन पञ्च र राजनीतिक दलबाट किनारीकृत भएपछि शाहनिकट पुगेका नवअवसरवादीले जिम्मेवारी पाउँदा पनि चरम संकटका बेलासमेत राजनीतिक अस्तित्व बचाउमा जुटेका र जोगिएका राप्रपाका कुनै नेता शाहको छनोटमा परेनन् । राप्रपा बिच्किएर राजसंस्थावादी सबै आन्दोलनमा समर्थन गर्ने तर आफूले छुट्टै आन्दोलन गर्ने घोषणा गरेपछि शाहको फागुन २५ को साख धर्मसंकटमा पर्याे ।
यही लाइन प्रष्ट गर्न कमान्डर बनेका दुर्गा प्रसाईं पात्र र चरित्र दुवै हिसाबले राजनीतिक, सामाजिक, सांस्कृतिक र व्यक्तिगत कुनै पनि रूपमा स्वीकृत व्यक्तित्व हैनन् । उनी माओवादी र एमालेलाई मिलाएर होस वा छुट्टाछुट्टै र पालैपालो साँठगाँठ गरेर पनि फुटपाथबाट उद्यमीको हैसियतमा व्यक्ति हुन् । बिगोभन्दा बढी ऋण लिन सफल भए पनि उनी त्यसको चपेटामा परेका छन् । माओवादी र एमालेलाई आफ्नो उद्धार र प्रयोगमा ल्याउन नसकिने पक्का भएपछि उनी अन्तिम विकल्पका रूपमा शाहको शरणमा पुगेका देखिन्छन् ।
त्यसैले अब तत्काल अधिकार सम्पन्न एक जाँचबुझ समिति गठन गर्ने र सम्पूर्ण पक्षको विश्वसनीय र विधिवत छानबिन गर्न उचित हुन्छ । अब उद्दण्ड खेतालामार्फत हिंसा मच्चाउने र देशलाई स्थायी अस्थिरतामा लगेर दाउमा राख्ने, सत्ताको च्याँखे थाप्ने अनि विधिवत जनअनुमोदनबिना वा संसद् छलेर कोही व्यक्ति सर्वोच्च शासक बन्ने सपना देख्ने कुनै गुन्जायस बाँकी छैन भनेर पनि संसद्ले सुन्न, देख्न र बोल्न पाउने र सर्वसाधारणले समेत प्रस्ट बुझ्ने गरी प्रतिवेदन लेखिनु अनिवार्य देखिन्छ ताकि सत्ता वा अन्य मोहमा आततायी बन्न तयार जो कोहीलाई राज्यले चिसो पानीले नुहाइदिएर शान्त पार्न सकोस ।
