FlashNepal
शुक्रबार, साउन २९, २०८३  |  August 14, 2026

पाल्पा, असार ११

पाल्पाको माथागढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६८ करोड १३ लाख ५७ हजार २९३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको दोस्रो अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले बजेट प्रस्तुत गर्दै स्थानीय आवश्यकता, दिगो विकास, उत्पादन वृद्धि तथा प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट तयार गरिएको बताउनुभयो।   प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ४७ करोड ६३ लाख ५७ हजार २९३ रुपैयाँ तथा पुँजीगत खर्चतर्फ २० करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार निर्माण, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सुशासनलाई आगामी वर्षका प्रमुख प्राथमिकताका रूपमा अघि सारेको जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालका अनुसार गाउँसभाको पहिलो बैठक जेठ २९ गते बसेको थियो। सोही बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको र सोही नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने आधारका रूपमा बजेट निर्माण गरिएको हो। बजेटले गाउँपालिकाले तय गरेका दीर्घकालीन विकास लक्ष्यलाई कार्यान्वयन गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।  गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र जनमुखी रहेको बताउनुभयो। उहाँका अनुसार विगतका वर्षमा अधुरा रहेका तथा स्रोत सुनिश्चित नभएका योजनाभन्दा चालु आर्थिक वर्षमै सम्पन्न गर्न सकिने योजनालाई प्राथमिकतामा राखिएको छ। “बजेटको आकारभन्दा त्यसको प्रभावकारी कार्यान्वयन महत्वपूर्ण हो,” अध्यक्ष चिदीले भन्नुभयो, “त्यसैले सम्पन्न गर्न सकिने कार्यक्रम मात्र समेटेर नागरिकले प्रत्यक्ष अनुभूति गर्ने विकासलाई प्राथमिकता दिएका छौं।”

उहाँले गाउँपालिकाको आन्तरिक आम्दानी बढाउन विशेष योजना बनाइएको जानकारी दिँदै स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गरिने बताउनुभयो। राजस्वको दायरा विस्तार, स्थानीय उत्पादनको प्रवर्द्धन, सार्वजनिक सम्पत्तिको प्रभावकारी उपयोग तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने कार्यक्रममार्फत गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको उहाँको भनाइ छ।  बजेट निर्माणका क्रममा वडास्तरबाट संकलित योजना, विषयगत समितिका सिफारिस, जनप्रतिनिधिको सुझाव तथा स्थानीय नागरिकका आवश्यकता र मागलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। सीमित स्रोतसाधनका बीच पनि जनअपेक्षाअनुसार विकास निर्माणका कामलाई निरन्तरता दिने गरी बजेट तर्जुमा गरिएको जनाइएको छ।

कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र आयआर्जनको मुख्य आधारका रूपमा विकास गर्ने लक्ष्यसहित आधुनिक कृषि प्रविधि, सिँचाइ विस्तार, कृषक क्षमता अभिवृद्धि, पशुपालन तथा कृषि यान्त्रिकीकरणका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। त्यसैगरी शिक्षाको गुणस्तर सुधार, विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार सुदृढीकरण, स्वास्थ्य संस्थाको सेवा विस्तार, सुरक्षित खानेपानी, ग्रामीण सडक स्तरोन्नति तथा विपद् व्यवस्थापनका कार्यक्रमलाई पनि बजेटले प्राथमिकतामा राखेको छ।   गाउँपालिकाले सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई बजेट कार्यान्वयनको प्रमुख आधार बनाउने जनाएको छ। विनियोजित बजेटको प्रभावकारी परिचालनका लागि नियमित अनुगमन, मूल्यांकन र सार्वजनिक जवाफदेहितालाई थप सुदृढ बनाइने तयारी गरिएको छ।   जनप्रतिनिधिहरूले आगामी आर्थिक वर्षको बजेटले गाउँपालिकाको समग्र विकासलाई थप गति दिने विश्वास व्यक्त गरेका छन्। संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानसँगै स्थानीय स्रोतको प्रभावकारी परिचालन गर्दै नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यका साथ बजेट कार्यान्वयन गरिने गाउँपालिकाले जनाएको छ। बजेटले उत्पादन, पूर्वाधार, सामाजिक सेवा र सुशासनबीच सन्तुलन कायम गर्दै समृद्ध माथागढी निर्माणको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com