
पाल्पा, असार ९
पाल्पाको माथागढी गाउँपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा कृषिक्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ। गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी ले कृषि आधुनिकीकरण र कृषि क्रान्तिमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको बताउनुभयो। गाउँसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा निर्वाहमुखी कृषिलाई व्यवसायिक र आधुनिक बनाउने उद्देश्यले जग्गाको चक्लाबन्दीलाई प्रोत्साहन गर्ने नीति लिइएको छ। साथै मौरीपालन, खुर्सानी, आलु, धनियाँ, तरकारी तथा किवी खेतीलाई पकेट क्षेत्रका रूपमा विस्तार गरिने उल्लेख गरिएको छ।

माटोको जैविक गुणस्तर संरक्षण गर्न रासायनिक मल तथा विषादीको प्रयोग घटाउँदै जैविक खेती प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। ‘एक वडा एक तरकारी नर्सरी’ तथा ‘एक वडा एक उत्पादन पकेट कार्यक्रम’लाई निरन्तरता दिँदै थप विस्तार गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
उत्पादित कृषि उपजको बजारीकरणका लागि सहकारी तथा कृषक समूहसँगको सहकार्यमा शीतभण्डार (कोल्ड स्टोर) र कृषि बजार सञ्चालन प्रक्रिया अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल ले जानकारी दिनुभयो। दूध र मासु उत्पादनमा आत्मनिर्भरता हासिल गर्न भैंसी प्रवर्द्धन तथा कृत्रिम गर्भाधानमार्फत नश्ल सुधार कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न प्लास्टिक पोखरी र ट्युबवेल निर्माणका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाकी उपाध्यक्ष विष्णु लुङ्चे ले बताउनुभयो। त्यसैगरी, युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न सीपमूलक तालिम तथा क्षमता विकासका विभिन्न कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष लुङ्चेको भनाइ छ।