FlashNepal
आइतबार, साउन २४, २०८३  |  August 9, 2026

जोखिमपूर्ण बाटो सुरक्षित बन्दै, विद्यार्थीदेखि किसान र चालकसम्म सबैलाई राहत

पाल्पा, असार ९

कुनै समय वर्षायाम सुरु हुनासाथ स्थानीयलाई त्रसित बनाउने पाल्पाको माथागढी गाउँपालिका–४ स्थित झडेवा फाँट अहिले सुरक्षित आवागमनको प्रतीक बनेको छ। सामान्य वर्षा हुँदा पनि खोला उर्लिएर बाटो अवरुद्ध हुने, दलदले भूभागका कारण गाडी फस्ने र पैदल यात्रुले ज्यानकै जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता अहिले विगतको कथा बन्दै गएको छ। झडेवा फाँटमा पुल–कल्भर्ट निर्माण भएपछि स्थानीयवासीको दैनिकीमा उल्लेखनीय परिवर्तन आएको छ।

झडेवा फाँट गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनतर्फ जाने मुख्य मार्ग हो। यस मार्गबाट दैनिक रूपमा स्थानीय बासिन्दा, विद्यार्थी, किसान, कर्मचारी तथा सवारीसाधन आवतजावत गर्छन्। तर वर्षाको समयमा खोलामा पानी बढेपछि यात्रा नै रोक्नुपर्ने अवस्था आउने गरेको थियो। कतिपयले घण्टौं पर्खिनुपर्ने, कतिपयले वैकल्पिक लामो बाटो रोज्नुपर्ने र कतिले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता भोग्दै आएका थिए।

स्थानीय समाजसेवी फनबहादुर दर्लामीले सार्वजनिक हितलाई प्राथमिकता दिँदै तीन आनाभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराएपछि पुल निर्माणको बाटो खुलेको हो। त्यसपछि माथागढी गाउँपालिकाले २५ लाख रुपैयाँको लागतमा पुल–कल्भर्ट निर्माण सम्पन्न गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष शंकर दर्लामीले जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीयको दीर्घकालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले योजना अघि बढाइएको हो।
पुल निर्माणपछि सबैभन्दा बढी राहत महसुस गरेका छन् दैनिक रूपमा यही बाटो प्रयोग गर्ने सवारी चालक र स्थानीय बासिन्दाले। स्थानीय तथा गाडी चालक मदन रानाका अनुसार पहिले सामान्य वर्षा हुँदा पनि सवारीसाधन वारपार गर्न कठिन हुन्थ्यो। “धेरै पटक गाडी फसेका थिए, सामानसमेत बिग्रिएको थियो। अहिले पुल बनेपछि निर्धक्क भएर यात्रा गर्न सकिएको छ,” उहाँले भन्नुभयो।

यस पुलले विद्यार्थी र अभिभावकलाई पनि ठूलो राहत दिएको छ। वर्षायाममा बालबालिकालाई विद्यालय पठाउँदा अभिभावक चिन्तित हुने गर्थे। खोला तर्दा हुने दुर्घटनाको डरले कतिपय विद्यार्थी विद्यालय नै जान नसक्ने अवस्था थियो। अहिले सुरक्षित संरचना बनेपछि अभिभावक ढुक्क भएर आफ्ना बालबालिकालाई विद्यालय पठाउन थालेका छन्।

जग्गादाता फनबहादुर दर्लामीले स्थानीयको पीडा आफ्नै आँखाले देखेकै कारण कुनै प्रतिफलको अपेक्षा नगरी जग्गा उपलब्ध गराएको बताउनुभयो। उहाँका अनुसार पुल निर्माण भएपछि गाउँको विकाससँगै नागरिकको सुरक्षा पनि सुनिश्चित भएको छ।   स्थानीय सुदर्शन रायमाझीका अनुसार केही वर्षअघि यही खोलाले एक जनाको ज्यान बगाएको दुःखद घटना अझै पनि गाउँलेहरूको स्मृतिमा ताजै छ। “पुल नहुँदा वर्षा लागेपछि यो बाटो हिँड्न निकै डर लाग्थ्यो। अहिले भने वर्षातमा पनि ढुक्क भएर यात्रा गर्न सकिन्छ,” उहाँले भन्नुभयो।

पुल–कल्भर्ट निर्माणसँगै गाउँपालिकाको निर्माणाधीन प्रशासनिक केन्द्रसम्मको पहुँच सहज बनेको छ। यसले सरकारी सेवा लिन आउने नागरिक, कृषि उत्पादन ओसारपसार गर्ने किसान तथा दैनिक आवतजावत गर्ने सर्वसाधारण सबैलाई प्रत्यक्ष लाभ पुगेको छ। सानो देखिने भौतिक संरचनाले स्थानीयको सुरक्षा, सुविधा र विकासलाई एकैसाथ जोड्ने उदाहरणका रूपमा झडेवा फाँटको यो पुल अहिले गाउँपालिकाको सफल पूर्वाधार विकास योजनामध्ये एक बनेको छ। स्थानीयका अनुसार विकासको वास्तविक अनुभूति त्यतिबेला हुन्छ, जब एउटा पुलले जोखिमलाई सुरक्षित यात्रामा रूपान्तरण गरिदिन्छ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com