पाल्पा, असार ८
स्वास्थ्य सेवा पहुँचको अभाव ग्रामीण नेपालका धेरै बस्तीको साझा समस्या हो। सामान्य उपचारका लागि पनि घण्टौंको यात्रा गर्नुपर्ने, आकस्मिक बिरामीलाई समयमै अस्पताल पुर्याउन नसक्दा ज्यान जोखिममा पर्ने अवस्था अझै धेरै ठाउँमा देखिन्छ। तर पाल्पाको माथागढी गाउँपालिका–४ झडेवामा निर्माणाधीन १५ शैयाको आधारभूत अस्पतालले अब यस्तो अवस्थालाई धेरै हदसम्म अन्त्य गर्ने अपेक्षा गरिएको छ।
झडेवामा निर्माण भइरहेको अस्पताल भवन अहिले अन्तिम चरणमा पुगेको छ। भवन निर्माण सम्पन्न भएसँगै आवश्यक उपकरण जडान, विद्युत् व्यवस्थापन र सेवा सञ्चालनका तयारी तीव्र पारिएको गाउँपालिकाले जनाएको छ। सेवा सञ्चालनमा आएपछि माथागढी गाउँपालिकाका हजारौं नागरिकले आफ्नै गाउँपालिकाभित्र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ। गाउँपालिकाले २०७८ जेठ २७ गते प्राकृतिक निर्माण सेवासँग करिब १२ करोड रुपैयाँ लागतमा अस्पताल निर्माणको ठेक्का सम्झौता गरेको थियो। सुरुमा २०८१ जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न प्राविधिक कारणले काममा ढिलाइ भयो। त्यसपछि आयोजनाको म्याद थप गरी २०८३ असारसम्म हस्तान्तरण गर्ने व्यवस्था गरिएको हो। साविक झडेवा स्वास्थ्य चौकी रहेको करिब ९ रोपनी क्षेत्रफलमा निर्माण गरिएको दुईतले अस्पताल भवनको मुख्य संरचनात्मक काम सम्पन्न भइसकेको छ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीका अनुसार भवन निर्माण सकिए पनि अस्पताल सञ्चालनका लागि आवश्यक उच्च क्षमताको विद्युत् आपूर्ति तथा एयर कन्डिसनिङ (एसी) लगायतका प्राविधिक व्यवस्थापन गर्न केही समय लागेको हो। अहिले ती काम पनि अन्तिम चरणमा पुगेकाले छिट्टै अस्पतालबाट नियमित सेवा सुरु हुने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। यो अस्पताल संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर अस्पताल नभएका स्थानीय तहमा ५, १० र १५ शैयाका आधारभूत अस्पताल निर्माण गर्ने राष्ट्रिय कार्यक्रमअन्तर्गत निर्माण गरिएको हो। माथागढी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष शंकर दर्लामीका अनुसार ग्रामीण नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो परियोजना सञ्चालन गरिएको हो।
अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनको काम पनि अघि बढेको छ। गाउँपालिकाका अनुसार प्रदेश सरकारले एक जना चिकित्सक खटाइसकेको छ भने अस्पतालमा नवौं तहको चिकित्सकको नेतृत्वमा करिब ३० जना स्वास्थ्यकर्मीको दरबन्दी रहनेछ। अस्पतालबाट ओपिडी, आकस्मिक सेवा, अन्तरङ्ग सेवा, प्रयोगशाला, एक्स–रे, दन्त उपचार, आयुर्वेद सेवा, फार्मेसी तथा बिरामी भर्ना सेवा सञ्चालन गरिने योजना छ।
गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीका अनुसार अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि तानसेन, बुटवल वा अन्य सहर धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा घट्नेछ। विशेषगरी झडेवा, गोठादी, हात्तिलुङ, रहवास, बहादुरपुर तथा कसेनीका केही क्षेत्रका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने उहाँको विश्वास छ। उपाध्यक्ष विष्णुमाया लुङ्चेले ग्रामीण र आर्थिक रूपमा कमजोर परिवारका लागि गाउँमै अस्पताल सञ्चालन हुनु ठूलो उपलब्धि भएको बताउनुहुन्छ। उहाँका अनुसार भवन निर्माण मात्रै पर्याप्त नभएकाले दक्ष जनशक्ति, आधुनिक उपकरण र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न गाउँपालिका निरन्तर सक्रिय रहनेछ। ग्रामीण विकासको मापन केवल सडक र भवनले मात्र हुँदैन, नागरिकले समयमै गुणस्तरीय स्वास्थ्य सेवा पाउँछन् कि पाउँदैनन् भन्ने विषयले पनि विकासको स्तर निर्धारण गर्छ। झडेवामा निर्माण भएको यो आधारभूत अस्पतालले माथागढीका नागरिकको स्वास्थ्य सुरक्षालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। सेवा सञ्चालनपछि स्थानीय बासिन्दाले उपचारका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता घट्ने मात्र होइन, आकस्मिक अवस्थाका बिरामीको समयमै उपचार सम्भव हुने विश्वाससमेत बढेको छ। ग्रामीण स्वास्थ्य सेवामा आत्मनिर्भरता बढाउने दिशामा यो अस्पताल माथागढी गाउँपालिकाका लागि एउटा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
