काठमाडौँ, २१ पौष । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले अब फिल्म ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेका छन् ।
फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले फिल्म निर्माण गर्ने घोषणा गरेको हो । थिम पोस्टरले पहाडी परिवेश देखाएको छ । बादल र कलिलो घामको समिश्रण रहेको पोस्टरमा ढुंगामाटोले बनेको घर, अग्लो रुख, पहाड र एक महिलालाई देख्न सकिन्छ ।
बादल र कलिलो घामको समिश्रणले कठिन पहाडी जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र क्षितिजले भेट्न नसकिने सपनाको संकेत गरेको बुझ्न सकिन्छ ।
दिनेश खड्का कार्यकारी निर्माता रहने फिल्ममा प्रेविल कँडेल र हरि महतको लगानी हुनेछ । ‘कोशेढुंगा’ २०८२ मा रिलिज हुनेछ ।
