विजय हितानको ‘ब्लु प्लानेट’ सार्वजनिक

काठमाडौँ
कथाकार विजय हितानको नयाँ कथासङ्ग्रह ‘ब्लु प्लानेट’ सार्वजनिक भएको छ । आफ्नो कृतिमा हितानले आजको विश्वव्यापी वातावरणीय समस्या र तिनको निराकरणका उपायहरूलाई कथाको रुपमा प्रस्तुत गरेका छन् । कथाकार हितानका अनुसार आजसम्मका हाम्रा प्राय सबै साहित्यिक सिर्जनाहरू मानवकेन्द्रित छन् । मानवीय अतिक्रमणमा परेर पृथ्वीको पर्यावरण असन्तुलित बन्दै गैरहेको छ । तर विडम्वना, मानवीय सभ्यता नै धरापमा पर्न सक्ने यस्तो जटिल समस्याबाट हामी अनभिज्ञ छौँ । यसर्थ अब हाम्रा साहित्यिक सिर्जनाहरू मानवेत्तर जगततिर केन्द्रित गरेर पृथ्वीको पर्यावरणीय संरक्षण, संबर्धन र प्रबर्धन गर्नुपर्ने आवश्यकता छ । सङ्ग्रहभित्र १५ वटा पर्यावरणीय कथाहरू रहेका छन् । तिनले जलवायु परिवर्तन, जैविक विविधता, वन्यजन्तु चोरीशिकारी, बाढीपहिरो, जल तथा वायु प्रदूषण, वातावरण संरक्षण अभियान, विश्वव्यापी तापक्रम बृद्धिजस्ता विषयवस्तुलाई समेटेका छन् ।

वातावरण विज्ञानमा स्नातकोत्तर गरेका हितानको यो कथासङ्ग्रहलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो । ‘ब्रह्माण्डको निलो ग्रह यस धरतीमा पर्यावरण सन्तुलन, वातावरण संरक्षण र प्राणी–वनस्पतिबीचको प्राकृतिक चक्र नियमित गर्न सक्रिय हितान पर्या लेखन अर्थात् ‘इको राइटिङ’का अथक योद्धा हुन् ।’ भनेर प्रकाशकद्वारा आफ्नो प्रकाशकीयमा लेखिएको छ । पुस्तकको मूल्य रु. ३२५ राखेर बजारमा बिक्रीवितरण गरिँदै छ । यस कथासङ्ग्रहमा नेपालमा इको राइटिङलाई सबैभन्दा पहिला आफ्नो ‘उत्तर आधुनिक विमर्श’ पुस्तकमा सिद्धान्तीकरण गरेका प्रा. डा. गोविन्दराज भट्टराईको भूमिका रहेको छ । गत एक दशकभन्दा बढी पर्यावरण साहित्यलाई नेपाली मूलधारको साहित्यमा भित्र्याउने अभियानमा खटिएका हितानको यो आठौँ साहित्यिक कृति हो । यसअघि थकित पृथ्वी, इको उत्सर्जन, बाग्मती ब्लुज, स्वच्छन्द सुसेलीहरूजस्ता कथा, निबन्ध र कविताकृतिहरू प्रकाशन भैसकेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *