पाल्पा, साउन २२
२ वर्ष अघि कालोपत्रे उप्काएर पुरानै स्वरुपमा ढुङ्गा छापिएको तानसेनको तेस्रो सडक क्षेत्रमा पानी पर्दा हिड्नै समस्या भएको छ । सडकका बिभिन्न स्थानमा पानी सङ्लिने भएपछि पैदल हिड्न समस्या भएको हो । सडकमा पानी पानी भएपछि पैदल हिड्दा जुत्ता, कपडा भिज्ने मात्रै हैन, सवारी साधनले पानी उछुट्याउने समस्या भैरहेको स्थानीयको गुनासो छ ।
नगरपालिकाले बजार भित्रका विभिन्न सडकलाई ढुङ्गा छापेर पर्यटकलाई आकर्षित गर्ने उद्धेश्य लिएर काम गरेपनि बेलैमा ध्यान दिन नसक्दा समस्या भएको जानकारहरुले बताएका छन् । कालोपत्रे सडक भत्काएर ढुङ्गा सोलिंग सहित प्लाष्टरगरी त्यसमाथी मार्वलजस्तै ढुङ्गा बिछ्याएको छ ।
पुरानो निकास भएकै स्थान दरबार अघिको सानो गल्ली, नारनथान झर्ने ओरालो र हुलाक अघिनिर निकास राखिएपनि बिभिन्न स्थानमा पानी जम्ने समस्या छ । ढुङ्गा छाप्ने कामका लागि सिएम शिवालय जेभि बानेश्वरले १ करोड ८३ लाख ११ हजार ४ सय ५५ रुपैयाँको ठेक्कामा ढुङ्गा छाप्ने काम भएको थियो । सडकमा ५ सय ८९ घन मिटर ढुङ्गा सोलिंग, ९२ घनमिटर पिसिसि र ३ हजार ८ सय ८० वर्ग मिटर सडकमा ढुङ्गा छाप्ने सहमति भएपनि संझौता अनुसारको काम नभएको समेत स्थानीयको गुनासो छ ।
तानसेन नगरसरकारको देखिने कामको रुपमा लिइने सडकमा ढुङ्गा छाप्ने काम भएपनि निर्माणताका राम्ररी ध्यान दिन नसक्दा अहिले समस्या बनेको जनाइएको छ ।