पाल्पा, चैत्र २,
लायन्स क्लब अफ पोखरा ब्युटि सिटीले पढाऔं अभियान अन्र्तगत पाल्पाका विद्यार्थीहरुलाई निशुल्क पोषाक बितरण गरेको छ । रिब्दीकोट गाउँपालिका ३ सिरुपातेको भगवती प्राथमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका ४० जना विद्यार्थीहरुलाई निशुल्क पोषाक बितरण गरेको हो । कार्यक्रममा विद्यालयका ३७ जना विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण र औषधी बितरण समेत गरिएको छ । बिद्यालयका अनुसार २ जना आँखा कमजोर भएका विद्यार्थीलाई चश्मा वितरण गरिएको छ । ३७ जना अभिभावकहरुको समेत निशुल्क आँखाको परिक्षण भएको छ । कार्यक्रममा लायन्स क्लब अफ पोखरा ब्युटि सिटीलले स्थानीय सरस्वती माबि कक्षा ९ मा अध्ययनरत जेहेन्दार विद्यार्थी शौरभ मल्ललाई १० हजार नगद र झोला प्रदान गरेको छ ।
पाहुनाहरुलाई स्वागत गर्दे भगवती प्रा.बि.का प्र.अ धन बहादुर भाटले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा पढाई प्रति थप रुचि बढ्नुका साथै सामाजिक सेवा भावको समेत बिकास हुने बताउनुभयो । अभिभावकमा समेत बालबालिका र बिद्यालय प्रति जिम्मेवारी बोध हुने भन्दै प्र.अ भाटले सहयोगी संस्थालाई धन्यबाद दिनुभयो । शिक्षिका बिमला गौतमको समुहले पाहुनाहरुलाई टिका र माला लगाई स्वागत गरेपछि शुरु भएको कार्यक्रममा रिब्दीकोट ३ का वडा अध्यक्ष विष्णु प्रसाद खनाल, सामुदायिक केन्द्रका अध्यक्ष राधेलाल अमात्य, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनु गौतम र बिद्यालय ब्यवस्थापन समितिका जेष्ठ सदस्य जगत बहादुर रुचालले बोल्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएकी लायन्स क्लब अफ पोखरा ब्युटि सिटीका अध्यक्ष मीना प्रधानले बिद्यार्थीमा थप सिर्जनशिलताको बृद्धि भई विद्यालयको शैक्षिक गुणस्तर थपिने बिश्वासमा आफूहरुले यस्ता सहयोग र सामाजिक कार्यक्रममा जोड दिएको बताउनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि चुनी गुरुङ्गले हरेक मानिस समाजप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । सबै र सधै एक जुट भएर अघि बढे जूनसुकै समस्या समाधान गर्न सकिने गुरुङ्गले बताउनुभयो । क्लबकी सचिब सिता गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
३३ वर्ष अघि स्थापना भएको भगवती प्राथमिक विद्यालयमा अधिकांस दलित विद्यार्थीहरुले अध्ययन गर्दे आएका छन् ।