सिद्धबाबा क्षेत्रको बाटो बनाएर मात्रै राजमार्ग चौडा गर्न पाल्पालीको माग

पाल्पा, फागुन २०,
सिद्धार्थ राजमार्गमा पर्ने बुटवल पाल्पाको बाटो चौडा गर्दा पाल्पाका ७ सय बढी घर भत्किने भएका छन् । सिद्धार्थ राजमार्ग चार लेनमा विस्तार गर्दा सडक क्षेत्र अतिक्रमण भई बनेका घरटहरा भत्किने निश्चित भएपछि घरधनीहरुले पहिले सिद्धबाबा क्षेत्रको बाटो बनाउनुपर्नेमा जोड दिएका हुन् । राजमार्गको २५ मिटरभित्र दायाँबायाँ बनेका पक्की तथा कच्ची गरी ७ सय घर भत्किँदा ४ सय बढी पक्की घर पनि पर्ने छ । पाल्पाको विकासमा बाधक बनेको सिद्धबाबा क्षेत्रको बाटो बनाउनु साटो जनतालाई उठिबास लगाउन थालेको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

पहिले सिद्धबाबा , दोभान क्षेत्रको बाटो निर्माण गर्ने र आवश्यक क्षतिपुर्ति पछि मात्रै बाटो बिस्तार गर्नुपर्नेमा स्थानीयको माग छ । डिभिजन सडक कार्यालय पाल्पाले सार्वजनिक सूचना प्रकाशित गरी सडकको दायाँबायाँ २५ मिटर क्षेत्रका भौतिक संरचना तत्काल आफैं हटाउन निर्देशन गरिसकेको छ ।

बुटवलको चिडियाखोलादेखि पाल्पाको राम्दीसम्म सडकको दायाँबायाँ २५मिटरभित्र पर्ने घरको तथ्यांक संकलन गरी हटाउने घरमा रातो पोतिसकेको र निर्माण भएका भौतिक संरचना हटाउन माइकिङ गरिएको डिभिजन प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो।ढिलोमा चैतदेखि सडक सीमाभित्रका संरचना हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको डिभिजन प्रमुख अधिकारीले बताउनुभयो ।
जनताको माग भन्दै बगनाँसकाली गाउँपालिकाले लेख्यो सडक विभागलाइ पत्र
जनताको लिखित माग आएपछि बगनाँसकाली गाउँपालिकाले सडक विभागलाई पत्र लेखेको छ । बाटो विस्तार हुने जग्गामा अग्रिम चिन्ह लगाउनुपर्ने, केन्द्र , प्रदेश र स्थानीय सरकारसँग छलफल गर्नुपर्ने, उचित क्षतिपूर्ती दिनुपर्ने तथा वातावरणीय प्रभावलाइ ध्यान दिनुपर्ने गाउँपालिकाको माग छ । सवारी चापका आधारमा मापदण्ड तयार गर्नुपर्ने, जग्गा खाली गराउने समय तोकिनुपर्ने, मुआब्जाको व्यवस्था गर्नुपर्ने जनताको माग अनुसार सडक विभागलाइ पत्र पठाएको गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले जानकारी दिनुभयो । आफूहरु विकासको विरोधी नभएको तर काम हुँदा सुरू क्षेत्र सिद्धबाबा, दोभान लगाएत ठूला समस्या भएका क्षेत्र बाट हुनुपर्नेमा जोड दिएको अध्यक्ष बस्यालको भनाई छ । जनताको कम क्षति हुने गरि विकास गरिनुपर्छ पर्नेमा उहाँको जोड छ । २०२५ सालमा बनेको यो सडकले त्यसभन्दा अगाडी बनेका घरहरूको पनि व्यवस्थापन गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *