पाल्पा, फागुन ८
नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेता के.पि शर्मा ओली कम्प्युनिष्ट सिद्ध्याउन जन्मिएको आरोप लगाउनुभएको छ । नेकपा पाल्पाद्वारा शनिबार तानसेनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे पुर्व कृषिमन्त्री समेत रहनुभएका नेता भुसालले आफू खुशि अघि बढ्ने अहमकारी ओलीको कदमले देश, जनता र कम्प्युनिष्ट पार्टी लाई ठुलो घाटा पुगेको बताउनुभयो ।
जनताका आशा र आधार सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना हुने विस्वास गर्दे उहाँले संसद पुनस्र्थापना नभए मुलुक बहुआयामिक द्वन्द्वतर्फ जाने शंका गर्नुभयो । सर्वोच्च अदालतले मुलुकको हितमा पैसला दिने विस्वास गर्दै नेता भुसालले सरकारले आगामी बैशाखमा चुनावको मिति घोषणा गरेपनि सो मितिमा चुनाव हुनेमा आशंका गर्नुभयो । ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि पाँचै वर्ष चलाउन दिएपनि प्रधानमन्त्रीको अहमताले मुलुक द्वन्द्वतर्फ धकेलिएको नेता भुषालको भनाई छ । नेपाली काङ्ग्रेसले पाँच वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिएपनि प्रचण्डले त्यो स्वीकार नगरेर कम्युनिष्ट पार्टीको एकताका लागि ओलीलाई समर्थन गरेको उहाँको भनाई छ । उहाँले ओली २०७७ मा २०१४ सालको केशरजङ्ग रायमाझी बन्न खोजेको समेत नेता भुसालले आरोप लगाउनुभयो । प्रधानमन्त्रीलाई एमसीसी पास गर्न नदिएको बाहेक अरु काम गर्न आफूहरूले नरोकेको उहाँको भनाई छ । एमसीसीलाई देशको हित अनुकुल बनाउन अनुरोध गर्नु बाहेक पार्टीले अरु कुनै काममा बाधा अबरोध नगरेको नेता भुसालको भनाई छ ।
कार्यक्रममा नेकपा लुम्विनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले पार्टीको नेतृत्व गलत मान्छेको हातमा पुग्दा देशमा अहिलेको समस्या सिर्जना भएको बताउनभयो । उहाँले बेलैमा तत्कालिन एमालेले गरेको गल्ती सच्याउनतर्फ नलाग्दा अहिले ओली जन्मिएको बताउनुभयो । कार्यक्रममा नेकपाकै लुम्विनी प्रदेशका अध्यक्ष ओनसरी घर्तीले आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नका लागि सडकमा आउनुपरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीको आत्मकेन्द्रित प्रवृत्तिले अहिले अवस्था सिर्जना भएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिनुभयो । अर्का केन्द्रीय सदस्य तुलाराम घर्ती वसन्तले पार्टीभित्रको ओली बदमासी भएको थाहा हुँदाहुँदै पनि नसच्याएकोले मुलुक प्रतिगमनतर्फ धकेलिएको बताउनुभयो । नेकपा केन्द्रीय सदस्य ठाकुर गहिरेले ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधानको घाटी च्याप्ने काम गरेको बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले संविधानको रक्षाका लागि बाध्यताबस् सडकमा आउनुपरेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले जनताले दिएको पाँच वर्षका लागि सरकार चलाउन दिएको जनादेश कुल्चिएको आरोप लगाउनुभयो ।