भोजराज भटराई
पाल्पा, माघ २७
बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जेष्ठ नागरिक समाजका मार्गदर्शक भएको बताउनुभएको छ । मंगलबार वडा नम्बर १ ले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जेष्ठ नागरिक अनुभवका खानी रहेको उल्लेख गर्दै जीवनका विभिन्न उकाली ओराली पार गर्दै जेष्ठ नागरिकले संगालेका अनुभव नयाँपिढीका लागि महत्त्वपूर्ण मार्गदर्शन हुने भएकोले जेष्ठ नागरिकको हक हित संरक्षण र सहयोगमा बगनासकाली गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
वडा नम्बर १ जेष्ठ नागरिक समितिका अध्यक्ष विष्णुप्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा वडाका ८१ बर्षदेखि ८३ वर्ष उमेरका ३५ र १०७ वर्षीय जेष्ठ नागरिक १ जना गरी ३६ जना जेष्ठ नागरिकलाई न्यानो कपडा, पोषण सामग्रीसहित सम्मान गरिएको थियो । सोही अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले रोजगारीका लागि युवा विदेसिने प्रचलनले गाउँगाउँमा जेष्ठ नागरिकहरू एक्लीएको बताउँदै अग्रजका अनुभवबाट छोरानाती पुस्ताले शिक्षा ग्रहण सक्छन भन्ने सन्देश समाजमा फैलाउनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत गुनाराम खनाल, वडा नम्बर १ का वडाअध्यक्ष सोमबहादुर झेंडी, वडा नम्बर २ का वडा अध्यक्ष टेकनाथ शर्मा गहिरे, नेकपाका प्रतिनिधि विष्णुप्रसाद खनाल,नेपाली कांग्रेसका प्रतिनिधि नरबहादुर राना, राप्रपाका कपिल ढुंगाना लगायतले युवा पुस्ताले जेष्ठ नागरिक समाजका मार्गदर्शक हुन भन्ने कुरा भुल्न नहुनेमा जोड दिनुभयो । कार्यक्रम वडा सचिव नन्दा चिदीको स्वागत, वडा सचिव विराट गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।
वडाको आर्थिक वर्ष २०७६।०७७ को ५० हजार जेष्ठ नागरिक सम्मानको लक्षित कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रम सम्पन्न भएको हो । बगनासकाली गाउँपालिका वडा नंम्बर १ मा सामाजिक सुरक्षा भत्ता बुझ्ने र अन्य गरी ३०० जना जेष्ठ नागरिक रहेको वडा पालिकाले जनाएको छ ।