पाल्पा, माघ २६
पाल्पामा रातीमा टिप्पर चलाउन रोक लगाउँदै राजमार्गमा टिप्पर चलाउन टाइमकार्ड लागु गरिएको छ । राति ९ बजेदेखि विहान ४ बजेसम्म तानसेन बजार हुँदै टिप्पर चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय, पाल्पाले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले टिप्पर सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । रातीमा टिप्पर चलाउँदा आएको आवाजले सडक छेउका घरमा समस्या भएको गुनाँसो आएपछि रातीको सात घण्टासम्म टिप्पर चलाउन रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
रातमा सुत्न नपाइने र दिउँसोमा धुलोसँगै भात खानुपर्ने बाध्यता रहेको भन्दै स्थानीयको पटक पटक गुनासो गर्दै आएका थिए । बैठकले रिब्दीकोट गाउँपालिका–३ खस्यौलीको हार्थोकदेखि तिनाउ गाउँपालिका–२ दोभानसम्म साढे दुइ घण्टाको समय तोकिएको छ ।