पाल्पा, माघ १५
पाल्पाको तानसेन नगर सरकारले उठाउँदै आएको सवारी कर झण्डै एक महिना पछि मात्रै रोकिएको छ । तानसेनको होलाङ्दी, बसपार्क, ढुङ्गाखानी लगाएतका सडकमा चल्ने सवारी साधनमा नगर सरकारले उठाउँदै आएको कर चौतर्फी विरोधपछि जिल्ला प्रशासन कार्यालय, पाल्पाले रोकिदिएको हो । शहरी सडकमा स्थानीय सरकारले पूर्वाधार उपयोग कर लिन पाउने भन्दै तानसेन नगरपालिकाले झण्डै एक महिना देखि सो सडकमा गुड्ने सवारी साधनमा कर उठाउँदै आएको थियो । स्थानीय सरकारले आफ्नो फाइदाको लागि मनोमानी हिसावले राजमार्ग प्रवेशमा लिएको शुल्क विद्यमान ऐन कानुन विपरीत भएको र ति कार्य तत्काल रोक्न माग गर्दे केही दिन अघि उद्योग वाणिज्य संघ गुल्मीले जिल्ला प्रशासन कार्यालय पाल्पा र तानसेन नगर सरकारको ध्यानाकर्षण गराएको थियो ।
सडक डिभिजन कार्यालयले पनि बर्तुङ्ग–होलाङ्दी, बसपार्क, अप्पुभिलेज ढुंगाखानी सडक राष्ट्रिय राजमार्ग आफ्नो क्षेत्राधिकार भित्र पर्ने भन्दै नगरपालिका र जिल्ला प्रशासनमा पत्राचार गरेको थियो । सोही पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले नगरसरकारलाई सवारी कर बन्द गर्न निर्देशन दिएपछि बुधबार देखि कर लिने काम बन्द भएको हो ।
यस अघि नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचना अनुसार शहरी सडक भनेपछि नगरपालिकाले कर उठाउन शुरु गरेको जनाएको थियो । २०६९ साल भदौ १८ गते प्रकाशित राजपत्रमा नेपाल सरकारले सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ ले दिएको अधिकारको प्रयोग गरी वर्तुङ्ग, तानसेन, रिडी तम्घास सडकको होलाङ्दी मोडदेखि बसपार्क, गौरीशंकर, अप्पुभिलेज ढुंगाखानी सम्मको बाटोलाई शहरी मार्ग कायम गरेकोले सोही अनुसारको पूर्वाधार कर लिएको तानसेन नगरपालिकाले जनाएको छ । केही वर्ष अघि देखि रोकिएको तानसेन बजारका बिभिन्न स्थानमा लिने गरिएको सवारी पार्किङ्ग सेवा समेत नगर सरकारले पुन शुरु गरेको छ ।