काठमाण्डौं, माघ १४
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको पहिलो दिनमै नौ हजार बढीले खोप लगाएका छन् । बुधवार देखि शुरु भएको ६४ जिल्लाका ९३ खोप केन्द्रबाट नौ हजार ८४ जनाले खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो दिन खोप लगाउनेमध्ये प्रदेश १ मा एक हजार दुई सय ५५ जना, प्रदेश २ मा सात सय २६ जना, वाग्मती प्रदेशमा दुई हजार छ सय ९४ जना र गण्डकी प्रदेशमा एक हजार आठ सय ४३ जना छन् । लुम्बिनी प्रदेशमा सात सय ३३ जना, कर्णालीमा सात सय ५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएका छन् ।
भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप सरकारले केही दिनअघि मात्रै नेपाल ल्याएको हो । ७७ वटै जिल्लामा खोप केन्द्र सञ्चालन गरेर आउँदो १० दिनभित्र चार लाख ३० हजार जनालाई पहिलो चरणको खोप दिने मन्त्रालयले बताएको छ । पहिलो डोज खोप लगाएकाहरूले २८ दिनपछि दोस्रो डोज खोप लगाउन सक्ने छन् ।