काठमाण्डौं, माघ ४
मानव शरीरभित्र करीब ९० प्रतिशत रोग मुख स्वास्थ्य अर्थात दाँतजन्य समस्याका कारण हुने गरेको जानकारहरुले बताएका छन् । मुख स्वास्थ्यको संवेदनशील दाँतको समस्यालाई सामान्य ठाने यसले अरु जटिल प्रकृतिका रोग निम्त्याउने गरेको छ । त्यसैले दाँतको उपचार र हेरचाहमा ख्याल गरेको खण्डमा अधिकांश रोग लाग्नबाटै बच्न सकिने स्वास्थ्यकर्मीहरुले जनाएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड प्रत्यक्ष मुख स्वास्थ्यसँग जोडिएको विषय पनि हो । महामारी सर्ने डरले अहिले पनि धेरै दाँतका बिरामी उपचारका लागि पुग्न सकेका छैनन् ।
कोभिड मुख, नाँक र आँखाबाट सर्ने भएकाले पनि दाँतको समस्या आइहाले पनि कोभिड सर्ने डरले अहिले पनि धेरै बिरामी घरमै बसेका छन् । मुखलाई मात्र जोगाउन सके कोभिडबाट पनि बच्न सकिन्छ । रोग प्रतिरोधात्मक क्षमता ‘इम्युनिटी पावर’ कमजोर भएका मानिसलाई कोभिडले बढी चाप्ने भएकाले स्वास्थ्य सावधानी अपनाएको खण्डमा बच्न सकिने डाक्टरको भनाई छ । कोभिडबाट बच्न तथा मुख स्वास्थ्य र मानव स्वास्थ्यको रक्षाका लागि नियमितरुपमा योगा अभ्यास, खानपिनमा ध्यान दिने, तारेका खानेकुरा नखान तथा चिनीको मात्रा कमगरी भरसक तातोपानीको प्रयोग गरी घाम ताप्ने जस्ता प्रक्रिया अपनाउँदा स्वस्थ्य शारीरिक लाभ हुने स्वास्थ्यकर्मीले बताएका छन् ।