पाल्पा, पौष २ ,
नेपाल पत्रकार महासंघ बेलायत शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित कोषमा २३ लाख भन्दा बढी रुपियाँ प्रदान गरेको छ । महासंघको संघिय समिति द्धारा स्थापित आपतकालिन कल्याण कोषमा बेलायत शाखाका तर्फबाट २३ लाख ५ हजार ५७७ रुपियाँ जम्मा गरिएको पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदान गरिएको रकम बाट २० लाख रुपियाँ कल्याण कोषमा जम्मा गर्न र बाँकी रकम कोरोना प्रभावित नेपाली पत्रकारहरुलाई तत्काल प्रदान गर्नका पत्रकार महासंघलाई अनुरोध गरिएको छ ।
बेलायत शाखाले गरेको आर्थिक सहयोग प्रति आभार ब्यक्त गर्दे पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले बिगत देखि नै बेलायत शाखाको सहयोग निरन्तर प्राप्त भैरहेको बताउनुभयो ।कोरोना महामारी जस्ता समस्यामा परेका नेपाली पत्रकारहरुलाई राहात दिने उद्धेश्यले १ करोड रुपियाँको अक्षयकोष बनाउने उद्देश्यले महासंघले सो कोष स्थापना गरेको हो।महासंघको कोषमा अहिले सम्म करिब ७० लाख रुपियाँ जम्मा भइसकेको जनाईएको छ ।