आफ्ना नेता पौडेलमाथि भएको धरपकड प्रति पाल्पामा विरोध

पाल्पा, मंशिर १८
आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र व्यवहारप्रति पाल्पामा विरोध भएको छ । बुधबार तनहुँको व्यास नगरपालिकामा बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रममा वरिष्ठ नेता पौडेल सहित नेता कार्यकर्तामाथिको पक्राउ र धरपकट गरेको विरोधमा नेपाल तरुणदल र नेपाल विद्यार्थी संघ पाल्पाले विहीबार तानसेनमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । उनीहरुले पौडेलमाथि भएको अभभ्र व्यवहारको निन्दा गरेका छन् । घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न समेत उनीहरुले सरकारसँग माग गरेका छन् । विरोध कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य हरिवोल भट्टराईले नेता पौडेललाई गिरफ्तार गर्नु सर्वसत्तावाद भएको आरोप लगाउनुभयो ।

उहाले प्रधानमन्त्रीको आदेशमा प्रहरीले पौडेल लगायतका नेता कार्यकर्ता माथि गरेको दुव्र्यवहार र जवरजस्ती गिरफ्तारी अत्यन्तै आपत्तिजनक र लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको बताउनुभयो । बिरोध सभामा नेपाल तरुणदलका जिल्ला सभापति मेजर सिं केसीले ओली सरकारको अलोकतान्त्रिक, दमनकारी र निन्दनीय कार्य प्रति आपत्ति जनाउदै यसका विरुद्ध तरुणदल एक ढिक्का भएर अगाडि बढ्ने बताउनुभयो ।

नेविसंघका जिल्ला सभापति कृष्ण बहादुर आलेले काँग्रेसका नेता कार्यकर्ताहरु माथि दमन गर्दै लोकतन्त्रलाई नै परास्त गर्न खोजेको आरोप लगाउनुभयो । उहाले जनताको लामो संघर्षबाट ल्याइएको लोकतन्त्रलाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले संकटमा पार्न थालेको आरोप लगाउनुभयो । नेविसंघका नेता सुरेस बोहोराले सरकार लोकतन्त्रविरोधी बन्दै गएकाले अब त्यसका विरुद्धमा नेविसंघले सशक्त आन्दोलन थाल्ने चेतावनी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *