पर्वत, मंशिर १६
आफैले हत्या गरी श्रीमती हराएको नाटक गरेका पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका तुलसे नेपाली पक्राउ परेका छन् । गएको कात्तिक १५ गते उनका श्रीमती पूर्णकलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि अनुसन्धानका क्रममा घटना घटेको १२ दिनपछि मात्रै श्रीमानले श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ । सामान्य घरायसी झैझगडाको निहुँमा श्रीमती पूर्णकलाको हत्या गरेका तुलसेले स्वीकारेको समेत प्रहरीले जनाएको छ । कात्तिक १३ गते राति ९ बजेको समयमा घरमा श्रीमती संग झगडा भएपछि श्रीमती घरबाट निस्किएको र खोज्दै जाँदा घर नजिकै लुकेर बसेको अवस्थामा भेटेपछि त्यही समयमा श्रीमतीको हत्या गरेको तुलसेले प्रहरी समक्ष दिएको बयानमा भएका छन् ।
उनले श्रीमती पूर्णकलाले लगाएको लुङ्गीले घाँटी बाँधेर हत्या गरेपछि तीन सय मिटर तल बारीको कान्लामा लगेर शवलाई फालेको बताएका हुन् । श्रीमतीको हत्या पछि अर्को दिन कास्कीको पोखरामा रहेको पूर्णकलाको माइतमा खोज्न गएको र पूर्णकलाका माइती संगै घरमा फर्केर उनले कुश्मा नगरपालिका १२ को ठूलीपोखरी प्रहरी कार्यालयमा खोजी गरिदिन भन्दै निवेदन दिएको प्रहरीले जनाएको छ ।