उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

काठमाण्डौं, मंशिर १४
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । शनिबार भएको चुनावमा प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । अव ढकाल नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्नु हुने छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको कमान्ड गर्नुहुने छ । ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत प्राप्त गर्नुभयो । २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ र प्रधानले ३९ मत ल्याउनुभएको छ । ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ चन्द्रले ५२ र किशोरले ५३ मत ल्याउनुभयो ।

ढकालले वस्तुगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत, एसोसियटतर्फ १७.४६ प्रतिशत मत प्राप्त गर्दा कूल ५४. २६ प्रतिशत मत प्राप्त गर्नुभयो । प्रधानले ४५.७४ प्रतिशत मात्रै मत ल्याउनुभएको हो । शनिबार राति नै आएको मत परिणामअनुसार महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी हुनुभएको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *