काठमाण्डौं, मंशिर ५
यही मंशिर महिना भित्रै काँग्रेस जिल्ला शाखाले क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउनुपर्ने भएको छ । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण मङ्सिरभित्रै केन्दमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको हो । कांग्रेसको गत कात्तिक २८ गतेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिलाई निर्देशन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । जिल्ला कार्यसमितिले केन्द्रको परिपत्रको सबै प्रक्रिया पूरा गरेर नामावली सूची प्रकाशित गरी विधानबमोजिम आवश्यक कागजात र तोकिएअनुसारको शुल्कसहित मङ्सिरभित्र अनिवार्यरुपमा केन्द्रमा पठाउनुपर्नेछ । कांग्रेस मुख्य सचिव पौडेलका अनुसार गत फागुन १३ र साउन २२ गते केन्द्रबाट जारी गरिएको क्रियाशील सदस्यता वितरणसम्बन्धी परिपत्रअनुसारको प्रक्रिया पूरा नगरी वितरण गरिएका र केन्द्रमा पठाइएका क्रियाशील सदस्यताको नामावली (नयाँ र नवीकरण ) स्वीकृत नहुने भएको छ । कांग्रेसको नेतृत्व चयनमा महत्वपूर्ण भूमिका रहने क्रियाशील सदस्यता संख्या अहिले झण्डै पाँच लाख रहेका बताइएको छ ।
कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई समेत प्रदान गर्दा यो संख्या दोब्बर हुने पार्टी कार्यालयले जनाएको छ । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरी सोहीअनुसार कार्यतालिका सार्वजनिक गरिसकेको छ । कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौंमा भएको थियो । कांग्रेसका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने विधानमा उल्लेख छ । तर विधानकै अर्को व्यवस्थाअनुसार एक वर्ष समयावधि यसअघि नै थप भैसकेको छ । कोरोना संक्रमणको जोखिमका कारण अहिलेको महाधिबेशन समेत अन्ल्यौलमा परेको छ ।