काठमाण्डौं, कार्तिक २५,
सरकारले अव सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ । चर्को जनदबाव बढेपछि पहिले गरेको आफ्नै निर्णय फेर्दे सोमबार बसेको मन्त्रीपरिषद बैठकले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
बैठकले गरिब एबम् नसक्नेहरुको लागि मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय फेरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ र सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ । गएको असोज १५ गते सर्वोच्च अदालतले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो ।
फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय सच्याउन दबाब परेको थियो । बैठकले निजी अस्पतालबारे भने स्पष्ट नबोलेको स्रोतले जनाएको छ । बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट्र र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका हुन् ।