काठमाण्डौं, कार्तिक २५,
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले २ महिनाको अवधिमै नेपालमा २२ हजार बढी अमेरिकी डलर बराबरको आर्थिक सहयोग गरेको छ । उक्त रकम बाट नेपालमा खाद्धान्न सहयोग गरिएको नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले बताउनुभयो । सहयोग कार्यक्रम सम्पन्न गर्न आर्थिक तथा नैतिक सहयोग गर्ने सवैलाई फिप्नाका तर्फबाट धन्यबाद प्रदान गरिएको महासंघका महासचविव नरेन्द्र थापाले जानकारी दिनुभयो । गएको जुलाई ५ देखी अगष्ट २९ सम्म करिव दुई महिनामै नेपालमा सहयोग गरेको महासंघले जनाएको छ । नेपालको काठमाण्र्डौमा लगातार ७ दिन सम्म हरेक दिन ३ सय जनाको दरले खाना वितरण गरिएको महासंघको भनाई छ । महासचिब नरेन्द्र थापाका अनुसार रत्नपार्क, असन, सोह्रखुट्टे, नयाँ वसपार्क, पशुपती क्षेत्र लगाएतका स्थानमा खाना वितरण गरिएको हो । २० भन्दा बढी घरविहिनहरूलाई त्रिपाल समेत वितरण गरीएको हो ।
काठमाण्डौ बाहिर नेपालका सिमान्तकृत शमुदाय, लोपोन्मुख समुदाय, मजदुर , सुकुम्बासी क्षेत्र र दलितवस्तीमा समेत राहत वितरण भएको छ । दैलेखका राउटे समुदाय, सिराहाका मुसहर समुदाय, धनकुटाका गिटी बालुवामा काम गर्ने मजदुर, मकवानपुरका चेपाङ समुदाय, सुनसरीका उराउँ तथा खम्पे समुदाय, धरानमा मजदुर तथा सुकुम्बासी, दाङका कुसुण्डा तथा माझी समुदायलाई समेत सहयोग गरेको नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले जनाएको छ । सिन्धुपाल्चोक जिल्लामा गएको बाढी पहिरो बाट प्रभावित परिवारलाई राहत प्रदान गरेको छ । बाग्लुङमा गएको बाढीपहिरोमा परी जनजिवन अस्तव्यस्त बनाएका क्षेत्रका जनताहरूलाई समेत सहयोग गरेको जनाइएको छ ।