दशैं टिकाको उत्तम साईत विहान १०ः१९ मा

काठमाण्डौं, असोज ३०
यस वर्षको हिन्दु नेपालीहरुको महानपर्व बिजया दशमी शनिबार देखि शुरु हुँदैछ । शनिबार (कार्तिक १ ) देखि शुरु हुने दशैको पहिलो दिन घटस्थापनाको साइत शनिबार बिहान ११ः४६ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । घटस्थापनाको भोली पल्ट नेपाली सेनाले झण्डा फेर्ने चलन छ । कात्तिक २ गते आईतबार बिहान १०ः५३ मा पश्चिम फर्केर झण्डा फेर्ने साइत रहेको जनाइएको छ । कात्तिक ५ गते बुधबार पचली भैरव यात्राको साइत छ । कात्तिक ७ गते शुक्रबार फूलपाती रहेको छ । फूलपाती भित्राउन साइत आवश्यक पर्दैन । विशेषगरी बेलुकी नवदुर्गा स्थापना गरी घटस्थापना गरिएको पूजा कोठा अथवा दशैँ घरमा फूलपाती भिञ्याउने चलन छ । कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व परेको छ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गरिन्छ । बेलुकी कालरात्रि मनाइन्छ । कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिले जनाएको छ ।

विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ । विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ । सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा नरहेको समितिले जनाएको छ । देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिइने परम्परा छ । कोजाग्रत पूर्णिमा कात्तिक १४ गते शुक्रबारको दिन परेको छ । त्यस दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजा आराधना गरिन्छ । महालक्ष्मीको विशेष आराधना गर्ने भक्तजनले कोजाग्रत पूर्णिमाको व्रत बस्ने चलन पनि छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *