पाल्पा, असोज २९
पाल्पाको माथागढी गाउँपालिकाले सामाजिक स्वास्थ्य बीमाबाट बन्चित ८२ घरपरिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । पालिकाले आर्थिक अभावले बीमा गर्न नसकेका वडा नम्बर ७ रहबासका विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएको हो । पालिका भित्रका आठ वटै वडाका बिपन्न परिवारलाई निशुल्क बीमा गरिदिएको अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो ।
विपन्न घरपरिवारलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन यो कार्यक्रम संचालन भैरहेको उहाँको भनाई छ । सामान्य रोग लाग्दा समेत ऋण खोजेर सदरमुकाम धाउनु पर्ने समस्याले सताइरहेका बेला गाउपालिकाले बिमा गरिदिएपछि आफूहरुलाई सजिलो भएको स्थानीय खेम बहादुर वि.क. को भनाई छ । ५ जना सम्मको परिवारले ३५ सय रुपैयाँको बीमा गरेपछि १ लाख सम्मको उपचार सेवा निशुल्क प्राप्त गर्नेछन् ।