पहिरोले घर लग्यो, भएका पनि बस्न मिल्दैन ! गाउँलेको उठी बास भयो

पाल्पा, असोज २१
रम्भा गाउँपालिका २ २ फोक्सिङ्कोटमा गाउँलेहरुले बस्ती सारिदिन आग्रह गरेका छन् । त्यहा गएको ८ गते ४ घर पुरिँदा ६ जनाको ज्यान गएको थियो । स्थानीय ६० बर्षिय हुम बहादुर गाहा, उहाँकी श्रीमती ५० बर्षिया धनिसरा, कान्छी छोरी वर्ष १७ की कृष्णा माया र नातिनिहरु खुमिसरा (१४ ) र ८ बर्षिषा लक्ष्मी गाहाको पहिरोले ज्यान लिएको हो । सोही दिन वडा नम्बर २ कै सुरुङ्डाडा निवासी २७ बर्षिया मोतीसरा गाहाको समेत पहिरोले घर च्यापिँदा ज्यान गएको थियो । घरै पहिरोले बगाएपछि हुम बहादुरका ३ छोरा र बुहारीहरु गाउँकै दाजुभाई गाहा थरको घर खोजेर क्रियामा बसे । ज्यान गुमाएकी हुम बहादुरकी छोरी कृष्णाका बा,आमा पनि छिमेकीकै घरमा दुखमा बसे । ५ जनाको एकै चिहान बनाएको असोजे झरीले १८ बाख्रा र ३ वटा भैसी समेत पुरिएकाले अझै पनि गन्ध आइरहेको थियो । मरेको लास निकाल्न त दुई दिन लाग्यो, बाख्रा र भैसी निकाल्न सकिएन, त्यही पुरियो, स्थानीय घन बहादुर सारुले भन्नुभयो पहिरोले गाउँलेलाई समेत उठीबास बनायो । क्रिया त गरिदै छ, सकेपछि कहाँ बस्ने, के खाने, लाउने लुगा केही छैन, दुखमा बसेका हुम बहादुरका छोरा मन बहादुरको चिन्ता थियो, छिमेकी सबैको घर जोखिममा छ, माग्न र भन्न जाने ठाउँ नै छैन । उनले यसो भनिरहदा उनका भाईहरु बिर र हेम बहादुरका आँखा रसाए । बुहारी भागीमाया र चेतनाले मन बहादुरलाई नरोन भनिरहे तर आफै डाको छोडेर रोएपछि छिमेकी महिलाहरुले पनि आशु पुच्न शुरु गरे ।

हुन पनि ३ दिन सम्म परेको पानीले गाउँका १५ घर जोखिममा छ । घर माथि र तल समेत पहिरो गएको छ । ढाँजा फाटेको छ । बस्ने अवस्था नभएपछि उनीहरु आफन्त र गाउकै स्वास्थ्य चौकीमा रात कटाइरहेका छन् । एकै पटक आपत पर्र्यो स्थानीय अगुवा टंक बहादुर सारुको भनाई थियो । बाटो छैन, गाउँमा गाडी नआएको ३ महिला भयो , आलु चामल , नुन तेल सबैको सकिन थालेको टंक बहादुरले बताउनुभयो ।
बाटो नहुदा पनि सेना प्रहरी तत्काल घटना स्थलमा आउन नपाउँदा ५ जनाकै ज्यान गएको मृतक खुमीसरा आलेकी आमा मनसरीले गुनासो गर्नुभयो । बिहानै घटेको घटना, अर्को दिन बेलुकी मात्रै खोज्न सकियो, खुमिसराले पटुकीले आसु पुच्छै भन्नुभयो बेलैमा खोजेको भए सबैलाई जिउँदै फेला पार्थे, सकिएन । निरन्तर पानी र पहिरो झरीरहेपछि गाउलेले पनि घटना भएको दिन केही गर्न सकेनन् । भोली पल्ट दिउँसो पुगेको सेना र प्रहरीले बेलुकी मात्रै ५ जनाको लास भेटाएको थियो ।

रातमा छिमेकी र स्वास्थ्य चौकीमा बस्नेहरु दिनमा बस्तुभाउ हेर्न र मन थाम्न घर जाने गरेका छन् । दिउँसोमा घर आउन मन लाग्छ, गाईबस्तु कराउँछन्, झन् रुन मात्रै आउँछ, ३७ बर्षिया सुमित्रा आलेले भन्नुभयो दुखले बनाएको घर गोठ, छोड्न पनि सकिएन, जाने ठाउँ कही छैन ।
अव के गर्ने टुङ्गो लागेको छैन, वडा अध्यक्ष उमान सिंङ सारुले भन्नुभयो पुरानो घरमा बस्ने अवस्था छैन, नयाँ ठाउ कहा लागे अन्यौलमा छौ । अध्यक्ष सारुका अनुसार गाउँपालिका संग बस्ती सार्ने बारेमा कुराकानी भैरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *