पहिरोले ज्यान गुमाएका र घरवारबिहिन भएका परिवार र आफन्तलाई आर्थिक सहयोग

पाल्पा, असोज २०
पाल्पाको फोक्सिङ्कोटमा पहिरोले ज्यान गुमाएका र घरबार बिहिन भएका परिवार र आफन्तलाई पाल्पा जिल्ला समाज यू.के.ले २ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । गएको ८ गते बिहिबार रम्भा गाउँपालिका २ फोक्सिङ्कोटमा २ घर पुरिँदा ६ जनाको ज्यान गएको थियो ।
स्थानीय ६० वर्षिय हुम बहादुर गाहाको घर पहिरोले पुरिदा हुम बहादुर संगै उहाँकी श्रीमती ५० बर्षिया धनिसरा गाहा, कान्छी छोरी १७ बर्षिया कृष्णा माया र नातिनिहरु १४ बर्षिया खुमिसरा र ८ बर्षिषा लक्ष्मी गाहाको ज्यान गएको थियो । सोही दिन सोही वडाको सुरुङ्डाडा निवासी २७ बर्षिया मोतीसरा गाहाको समेत पहिरोले घर च्यापिँदा ज्यान गएको थियो । बेलायतमा रहेका पाल्पालीहरुको संस्था पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) ले पठाएको दुई लाख नेपाली रुपियाँ पत्रकार देब पचभैया, पाल्पा जिल्ला समाज यू.के.का प्रतिनिधिहरु इन्द्र बहादुर थापा, बृहस्पति राना र पाल्पाका केही पत्रकारहरुले घटनास्थलमै पुगेर हस्तान्तरण गरेका हुन् । उक्त रकम पहिरोमा ज्यान गुमाएका हुम बहादुर गाहाको परिवारलाई एक लाख, खुमिसरा आलेको परिवारलाई पचास हजार र मोतीसरा गाहाको परिवारलाई पचास हजार गरी जम्मा दुई लाख सहयोग गरेको पाल्पा जिल्ला समाज यू.केका पूर्ब अध्यक्ष एबम् आर्थिक सहयोग कार्यक्रमका संयोजक बम थापा सुर्यबंशीले जानकारी दिनुभयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै रम्भा गाउँपालिका २ का वडा अध्यक्ष उमान सिंङ सारुले दुःखमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै पहिरोले गाउँका १४ भन्दा धेरै घर जोखिममा रहेको बताउनुभयो । जोखिममा रहेका घरधनीहरु रातमा आफन्तकोमा तथा गाउँमा रहेको स्वास्थ्य चौकी र बिद्यालयका भवनमा सुत्नुपर्ने अवस्था आएको भन्दै समस्या समाधानका लागी पहल गरिदिन सबै संग आग्रह समेत गर्नुभयो । पिडा र आपतमा परेका जिल्लाबासीको लागी केही भएपनि राहत होस भनेर आफूहरुले बेलायतमा रहेका पाल्पालीहरु संग अनुरोध गरेर आर्थिक सहयोग पठाएको पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) का अध्यक्ष बछसपति रेग्मीले जानकारी दिनुभयो ।

बाढी पहिरो तथा बिपद्मा परि ज्यान गुमाएका र घरबार बिहिन भएका अन्य पाल्पालीहरुलाई समेत क्रमस सहयोग गर्दे जाने योजना रहेको समाजका सल्लाहकार एबम् पूर्ब अध्यक्ष सुर्यबंसीको भनाई छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *