पाल्पा, असोज १
पाल्पामा कोरोना संक्रमित एक पुरुषको ज्यान गएको छ । तानसेन नगरपालिका र मिसन अस्पतालले भुसालडाडामा सञ्चालन गरेको आइसोलेसनमा उपचाररत तानसेन ७ का ५२ वर्षिय कोरोना संक्रमितको आज बिहान ज्यान गएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । युनाईटेड मिसन अस्पतालमा उपचार भैरहेका बेला गएको सोमबार उहाँमा कोरोना पुष्टि भएको थियो । संक्रमितलाई थप उपचारका लागि बुटवल र भैरहवासम्म एम्बुलेन्समार्फत लगिएपनि कुनै पनि अस्पतालले भर्ना नलिएपछि पुन फर्काएर तानसेनमै उपचार गरिएको थियो । मिसन अस्पतालले कोरोना संक्रमणको पुष्टि भएपछि थप उपचारका लागि बुटवलको धागो कारखानास्थित कोभिड अस्पतालमा पठाएको थियो । धागो कारखानाले प्रादेशिक अस्पतालबाट प्रक्रिया पुर्याएर ल्याउन भनेको र प्रादेशिकले बेड नभएको भन्दै राख्न नमानेको संक्रमितका आफन्तले गुनासो गरेका छन् ।
एम्बुलेन्स चालकले संक्रमित पुरुषलाई भीम अस्पताल भैरहवा पुर्याएपनि त्यहाँ पनि राख्न बेड अभाव भएको भनेपछि बुटवलको मुटु अस्पताल ल्याइएको थियो । त्यहाँ पनि राख्न नमानेपछि पुन पाल्पा फिर्ता ल्याइएको जिल्ला अस्पताल पाल्पाका एम्बुलेन्स चालक सुरज खत्रीले जानकारी दिनुभयो । जिल्ला अस्पताल संग समन्वय गरि बिरामीलाई थप उपचारका लागि बुटवल पठाएको युनाईटेड मिशन अस्पतालले जनाएको छ । बिहिबार संक्रमित पुरुषको ज्यान गएपछि कोरोनाका कारण पाल्पामा न्यान गुमाउनेको संख्या ३ पुगेको छ ।