पाल्पा, भाद्र २२
समुदायस्तरमा कोरोना फैलिएपछि पाल्पाका बिभिन्न स्थानीय तहहरु सिल गरिएका छन् । जिल्लाको तिनाउँ गाउँपालिकाको कार्यालय एक हप्तासम्म, बगनाँकाली गाउँपालिकाको वडा नम्बर ७ र ८ को केही भाग र माथागढी गाउँपालिका १ को केही भाग अनिश्चित कालका लागि शिल गरिएका हुन् । तिनाउँ गाउँपालिकाको कार्यालय नजिक रहका दोभान बजार र गाउँपालिकाको कार्यालय आगामी २८ गतेसम्मका लागी बन्द गरिएको गाउँपालिकाले जनाएको छ । शुरुमा ट्राभल हिस्ट्रि नभएकी स्थानीय एक महिलामा कोरोना संक्रमणको पुष्टि पछि गरिएको कन्ट्रयाक टे«सिङ्गमा ८ जनामा कोरोना संक्रमण भेटिएपछि कार्यालय र दोभान बजार सिल गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले जानकारी दिनुभयो । सिल गरिएको क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने तयारी भैरहेको पालिकाले जनाएको छ । पालिकाका सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बजार, पसल, होटल तथा रेष्टुरेन्ट लगायत सबै एक हप्तासम्म बन्द रहने छन् । स्थानीयलाई आवतजावतमा समेत रोक लगाइएको अध्यक्ष घर्ती मगरको भनाई छ ।
बगनाँसकाली गाउँपालिकाले वडा नम्बर ८ को देउराली बजार, नेपानेडाँडा, वडा नम्बर ७ को कमेरे हुँदै वडा कार्यालय सम्मलाई शिल गरेको हो ।
यस्तै माथागढी गाउँपालिका १ को वडा कार्यालय रहेको स्थान सातदोबाटो देखि पूर्बमा बुढीआम थुम्की, पश्चिमा ठुलो पहिरो रातडाडा, उतरमा बुढीचौर र दक्षिणमा स्वास्थ्य चौकी बगैचा सम्म शिल गरिएको छ ।
पछिल्लो समय पाल्पाका बिभिन्न स्थानमा समुदाय स्तरमै कोरोना संक्रमणको पुष्टि भएका छन् । अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना पुष्टि भएपछि आकश्मिक सेवा बाहेक जिल्ला अस्पताल पाल्पा समेत सोमबार देखि शिल गरिएको छ ।